ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अम्रिसोको निर्यात

२०७९ माघ, ५  
सम्पादकीय
Tvs Raider Image Not Found

नेपालमा आत्मनिर्भरताबारे खुबै चर्चा हुने गरे पनि निर्यात सम्भावित वस्तुको पहिचान र तिनलाई प्रोत्साहन र सहयोग गर्ने कुरामा भने ठोस काम भएको पाइँदैन । यस्तो सम्भावना बोकेका तुलनात्मक लाभका वस्तु थुप्रै छन् । अम्रिसो निर्यातको तथ्यांकले नेपालमा सम्भावनाको थप क्षेत्र उजागर गरेको छ । तर, त्यसलाई सरकारले किन उच्च महत्त्व दिएन भन्ने प्रश्न पनि सँगसँगै उठेको छ ।

अम्रिसोको खेती गरे पनि त्यसलाई सजिलैसँग बजारमा लैजाने प्रणाली किसानसँग छैन । त्यसको व्यवस्था मिलाउन सरकारले सहजीकरण गरिदिनु आवश्यक छ ।

नेपालबाट पछिल्लो ५ वर्षमा साढे २ अर्ब रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । कुचो बनाउन प्रयोग हुने अम्रिसो मूलत: भारत र बंगलादेशमा निर्यात भइरहेको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा नेपालले २१ करोड ३० लाख रुपैयाँ बराबरको ४२ लाख ६५ हजार किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको छ । गत आवको सोही अवधिमा नेपालले १९ करोड २० लाख रुपैयाँ बराबरको ३८ लाख ९२ हजार किलोग्रामभन्दा बढी निर्यात गरेकोे थियो । अघिअघिका वर्षहरूको निर्यातका प्रवृत्ति हेर्दा आव २०७४/७५ देखि क्रमश: यसको निर्यातमा वृद्धि भइरहेको छ । यो नेपालको निर्यात व्यापारका लागि निकै सकारात्मक छ र यसको बजार ठूलो भएकाले थप निर्यात बढाउन सक्ने देखिन्छ ।

अम्रिसोको उपयोग मुख्यतया कुचो बनाउन नै हुन्छ । कागज कारखानाहरूमा कच्चा पदार्थका रूपमा पनि यसलाई प्रयोग गरिन्छ । साथै गाईबस्तुका लागि घाँस खुवाउन पनि सकिन्छ । माटो तथा जलाधार संरक्षणका लागि पनि अम्रिसो निकै उपयोगी मानिछ । चुरे क्षेत्रको कमजोर स्तरको माटो तथा पानीको मुहान संरक्षणका लागि अम्रिसो लगाउन सकिन्छ र त्यसबाट व्यावसायिक लाभ पनि लिन सकिन्छ । नेपालमै पनि अम्रिसाको कुचोका माग बढी भएकाले आन्तरिक बजारमा विक्री गर्न सकिन्छ र विदेश पनि निर्यात गर्न सकिन्छ ।

अम्रिसो खेतीका लागि विशेष लगानी र परिश्रम गर्नु पर्दैन । त्यस्तै यसका लागि विशेष माटो पनि चाहिँदैन । ऊष्ण तथा उपोष्ण जलवायुमा राम्ररी सप्रिने अम्रिसोले लामो समयसम्म उत्पादन दिन्छ । बिरुवा रोपेको ८ महीनादेखि नै यसले उत्पादन दिन थाल्छ । सामुदायिक र कबुलियती वनमा समेत यसको खेती भइरहेको पाइन्छ । समतल तथा भिरालो दुवै किसिमको जमीनमा हुर्कन सक्ने यो अम्रिसो प्रतिकूल वातावरणमा समेत हुर्कन सक्छ ।  अम्रिसोको खेती निकै सरल देखिन्छ । तर, यसको बजारीकरण भने राम्रोसँग हुन सकेको छैन । त्यसैले सजिलो भएर पनि यसको खेती विस्तार हुन सकेको छैन ।

यसको मुख्य बजार भारत भएकाले यसको मूल्यमा भने उतारचढाव आइरहेको पाइन्छ । अम्रिसोको खेती गरे पनि त्यसलाई सजिलैसँग बजारमा लैजाने प्रणाली किसानसँग छैन । त्यसको व्यवस्था मिलाउन सरकारले सहजीकरण गरिदिनु आवश्यक छ । कतिपय किसानले अलैंचीले बजार नपाएपछि अलैंची मासेर अम्रिसोको खेती गरेको पाइन्छ । अम्रिसोको खेती इलाम आदि पूर्वी क्षेत्रमा बढी भएको पाइन्छ यद्यपि नेपालका धेरै जिल्लामा यसको सम्भावना छ । खेतीपाती गर्न निकै परिश्रम गर्नुपर्ने भए पनि अम्रिसोको खेती निकै सहज छ । त्यसैले बजारको खोजीमा सरकारको सहयोग हुने हो भने अहिले खेती हुन छाडेर बाँझो बनेको पहाडी जमीनमा अम्रिसो खेती फस्टाउन सक्छ । यसले किसानको जीवनस्तर सुधार्ने मात्र होइन, माटोको संरक्षणका लागि पनि ठूलै सहयोग गर्ने देखिन्छ ।

त्यसैले निर्यात व्यापारमा सहयोग पुर्‍याउने तथा सहज तरीकाले खेती हुने अनि लागत पनि कम पर्ने अम्रिसो खेतीका लागि प्रोत्साहनका साथै आवश्यक प्राविधिक सहयोग आवश्यक छ । त्यसो गर्न सके नेपालको निर्यात वस्तुमा अम्रिसोको पनि अंश ठूलै हुने देखिन्छ । यस्ता निर्यातको सम्भावना भएका वस्तुमा भ्यालू एडको व्यवस्थासहित नवप्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro