ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

संकटमा नर्सरी व्यवसायी

२०७९ माघ, ५  
मधेश प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

रौतहट। रौतहटको कटहरिया नगरपालिका–३ बिर्ति प्रस्टोका गाउँको मुख्य आयस्रोत फलफूल लगायत विभिन्न बिरुवाका बेर्ना उत्पादन तथा विक्री हो । तर उत्पादित बिरुवाले उचित मूल्य नपाउँदा व्यवसाय संकटमा पर्दै गएको नर्सरी सञ्चालकहरूले बताएका छन् ।

नर्सरीमा उत्पादित बिरुवाको मूल्य विगतको तुलनामा आधा घटेकाले नर्सरी व्यवसायीहरू मर्कामा परेका हुन् । यसअघि रू. ५० सम्ममा विक्री हुने बिरुवा अहिले २० देखि २५ रुपैयाँमा विक्री हुने गरेको नर्सरी व्यवसायीले बताएका छन् । ‘दिलीप फलफूल नर्सरी’ सञ्चालन गर्दै आएका बिदयालाल रौनियारका अनुसार नर्सरीमा उत्पादित बिरुवाले लगानीअनुसारको मूल्य पाउनै मुश्किल भइरहेको छ । ‘पहिला बिरुवा अधिकतम ७५ रुपैयाँसम्ममा पनि विक्री हुन्थ्यो,’ उनले भने, ‘त्यति बेला नर्सरी पेशामा लागेकाहरू मनग्गे आम्दानी गर्थे । तर अहिले त्यस्तो अवस्था छैन ।’

गाउँमा ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाका नर्सरी छन् । नर्सरीबाट गतिलो आम्दानी हुन छाडेपछि यहाँका अधिकांश व्यवसायी निराश छन् । ‘नर्सरीमा काम गर्ने कामदारको पारिश्रमिक दिन समेत धौ धौ भइरहेको छ,’ रौनियारले भने, ‘घाटा खाएर काम गर्नुपर्ने बाध्यता छ ।’

नर्सरी व्यवसायीको पीडा तीनै तहको सरकारले नबुझेको नर्सरी सञ्चालकहरूको गुनासो छ । खासगरी स्थानीय सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । बिर्ति प्रस्टोका गाउँमा करीब ७०० घरधुरी छन् । यहाँ दर्ता गरिएका फलफूल नर्सरी तथा बागवानी फार्म करीब २०० ओटा रहेको कृषि ज्ञान केन्द्र गौरले बताएको छ । नर्सरीमा विशेषगरी फलफूल तथा घर सजावट तथा काठ प्रयोजनका रूखका बिरुवा उत्पादन हुने गरेका छन् । उत्पादित बिरुवा देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro