ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेप्सेमा दिनभर ९/९ पटकसम्म उतारचढाव : यसको संकेत के हो ? अब कता जान्छ बजार ?

२०७९ माघ, ५  
समाचार लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्सेमा निकै उतारचढाव देखिएको छ । २ हजार १७५ विन्दुदेखि खुला भएको बजार २ हजार १७८ दशमलव ८१ विन्दुमा गएर बन्द भएको छ ।

दिनभरीमा बजार ९/९ पटकसम्म घटबढ भएर बन्द भएको छ । अहिले बजारमा ट्रेडिङ गर्ने लगानीकर्ता र ठूला लगानीकर्ताबीचको द्वन्द्वका कारण बजारमा तीव्र उतारचढाव आएको बजारका जानकारहरू बताउँछन् ।

अहिले बजार 'सिजनल बुल'मा चलिरहेको अवस्थामा ट्रेडिङ गर्ने लगानीकर्ताहरू सानो सानो नाफा बुक गर्नतिर लागेको र ठूला लगानीकर्ताले सीमित कम्पनीमा मात्र खेलिदिँदा बजारमा उतारचढाव आएको अग्रज लगानीकर्ता केशव कोइरालाले बताए । 

यसरी बजारमा निकै उतार चढाव आउँदा भोलिका दिनमा भने बजार सुस्ताउन सक्ने संकेत गरेको अर्का लगानीकर्ता ले बताए । तर ब्याजदर घट्दोक्रममा रहेकोले यस्ता उतारचढावले बजारलाई खासै फरक नपार्ने स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताए । आजको उतारचढाव हेर्दा धेरै वृद्धि देखिएका समूहमा करेक्सन देखिएकोले बजार माथि नै जाने सम्भावना रहेको उनको भनाइ छ ।

बिहीवार दिनभरको कारोबारमा उतारचढाव देखिए पनि अन्तिममा बजार अघिल्लो कारोबार दिनको भन्दा ५ दशमलव ७१ अंकले बढेर बन्द भएको छ । दिनभरको कारोबारमा नेप्से परिसूचक न्यूनतम २ हजार १६३ दशमलव १४ विन्दुसम्म झरेर अधिकतम २ हजार १९२ दशमलव ७१ विन्दुसम्म पुग्यो । बुधवार भने नेप्से परिसूचक  ९ दशमलव शून्य १ अंकले घटेको थियो ।

बुधवारको तुलनामा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बिहीवार २४६ कम्पनीको रू. ३ अर्ब ४ करोड ४५ लाख बराबरको ८२ लाख ४७ हजार ६४६ कित्ता धितोपत्र खरीदविक्री भएको छ । यस दिन ५८ हजार ६६५ पटकको व्यापारमा उल्लिखित धितोपत्र खरीदविक्री भएको बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रष्ट पारेको छ । बुधवार  रू. ४ अर्ब ९२ करोड बराबरको धितोपत्र कारोबार भएको थियो ।

बिहीवारको कारोबारमा सर्वाधिक हिस्सा एनआईसी एशिया बैंक लिमिटेडले ओगटेको छ । बैंकको रू. १८ करोड ४ लाख ४४ हजारभन्दा बढीको २ लाख १६ हजार ३३७ कित्ता शेयर खरीदविक्री भएको छ । 

सर्वाधिक शेयर कारोबार भएको यस बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । पछिल्ला दुई आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको यस बैंकको शेयर खरीदप्रति पछिल्लो समय लगानीकर्ता निकै उत्साहित देखिएका छन् । सर्वाधिक रकमको कारोबार भए पनि शेयर मूल्यमा वृद्धि हुनुको अर्थ बैंकको शेयर विक्रीको तुलनामा खरीद चाप बढी हुनु नै हो ।

सामान्य अंकले बढेको बिहीवारको बजारमा दुई कम्पनीको शेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ । यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र मैलुङ्गखोला जलविद्युतको शेयर मूल्य ९ दशमलव ५४ प्रतिशत बढेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७ दशमलव १० ले बढेर अन्तिम मूल्य रू. ८४८ दशमलव २० र मैलुङ्गखोला जलविद्युतको प्रतिकित्ता रू. ४३ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ४९८ दशमलव ४० पुगेको छ ।

यो दिन कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ८ दशमलव ८९ प्रतिशत घटेको छ । यस योजनाको इकाई मूल्य प्रतिइकाई रू. शून्य दशमलव ८८ ले घटेर अन्तिम इकाईमूल्य रू. ९ दशमलव शून्य २ कायम भएको हो ।

बिहीवारको बजारबाट व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव ६८ प्रतिशत बढेको छ । पछिल्लो समय छोटो समयमै नाफा बुक गर्ने हाबी हुँदा बजारले सोचेअनुसारको गति लिन नसकेको जानकारहरूको भनाइ छ ।

पुसको पहिलो सातादेखि नै उकालो लागेको बजार अझै माथि जानुपर्ने विश्वास जानकार लगानीकर्ताहरूको छ । एक वर्षभन्दा बढी समय घटेको बजारका सस्ता धितोपत्र खरीदका लागि लगानीकर्ता उत्साहित हुनुपर्ने अनुमान जानकार लगानीकर्ताहरूले लगाएका हुन् । अझै पनि सूचीकृत धेरै कम्पनीहरूको लाभांश आउन बाँकी नै रहेकाले लाभांश केन्द्रित भएर लगानी गर्ने वातावरण बाँकी नै रहेको जानकार लगानीकर्ताको बुझाइ छ ।

बिहीवार सूचीकृत कम्पनीहरूको कुल धितोपत्र मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख कायम भएको छ । बुधवारको तुलनामा कुल बजार पूँजीकरण रू. ८ अर्ब २४ करोड ११ लाखले वृद्धि भएको छ । बुधवार कुल बजार पूँजीकरण रू. ३१ खर्ब ३७ अर्ब ३९ करोड ४० लाख रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro