ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कालिञ्चोक दर्शनको आईपीओ शुक्रवारसम्म खुला, बिहीवारसम्म मागभन्दा करीब १५ गुणा बढी आवेदन

२०७९ माघ, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि शुक्रवारसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले अवधि लम्ब्याउन परेन । 

माघ ५ गतेसम्मको आवेदनको तथ्यांकअनुसार ११ लाख ४७ हजार ५०२ जना आवेदकहरूबाट १ करोड ३३ लाख ९१ हजार ८१० कित्ता शेयर खरीद माग भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको यो तथ्यांकअनुसार बिहीवारसम्म मागभन्दा १४ दशमलव ९४ गुणा बढी आवेदन परेको छ । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने शेयर भाग्यमानी ८९ हजार ६४० जना योग्य आवेदकले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरीे बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ ।

२ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro