ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

हुम्ला र बाजुरामा वर्षासँगै हिमपात : सडक अवरुद्ध, जनवीवन प्रभावित

२०७९ माघ, ६  
समाचार विविध
Tvs Raider Image Not Found

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हुम्ला र बाजुरामा हिमपात भएको छ । 

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि नै भारी हिमपात शुरू भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।

गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

बाजुरामा पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीवारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । बाजुरामा वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ ।

चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ । 

जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ ।रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro