काठमाडौं । नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादव र रास्वपाकी इन्दिरा रानामगरले प्रतिनिधीसभा तर्फ उपसभामुखमा उम्मेदवारी दिएका छन् ।
शुक्रबार अपरान्ह संघीय संसद भवन पुगेरउनिहरुले सो पदका लागि उम्मेदवारी दिएका हुन । सांसद यादवलाई नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक रहनु भएको छ भने नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौंधरी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्ला समर्थक रहेका छन् ।
यादवलाई काँग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चासहितका विपक्ष दलहरुको समर्थन छ ।
त्यस्तै सत्ता साझेदार गठबन्धनको तर्फ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतम रानामगरको प्रस्तावक रहेकी छन् । भने एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ, माओवादी केन्द्रका सांसद नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन पनि समर्थक रहेका छन्।
यादवले आफू विजयी भएमा तटस्थ रहेर निष्पक्ष भूमिका निर्वाह गर्ने भन्दै आफूलाई सबै दलका सांसदहरुले दलभन्दा माथि उठेर मतदान गर्ने विश्वास समेत व्यक्त गरिन् । ‘मेरो एकदमै निष्पक्ष भूमिका रहन्छ । उपसभामुख एउटा न्यूट्रल हुन्छ नि । न्यूट्रल रहेर आफ्नो भूमिका निर्वाह गर्छु,' उनले भनिन्, 'आफूलाई काँग्रेस, लोसपा, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले मत दिनेछ । अरु दलले पनि दलहरुभन्दा माथि उठेर मलाई सबै दलले सहयोग गर्नु हुन्छ । त्यसमा म विश्वस्त छु ।’
उपसभामुख पदमा उम्मेदवारी दिएलगत्तै रानामगरले आम जनता र देशको भलो हुने काममा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिएकी छन्। आफू भूईँ मान्छे, सडकमा कराईरहने मान्छेहरुको आवाज उठाउने मान्छे भएको उल्लेख गर्दै रानामगरले सत्तारुढ सबै दलहरुको सहमती र पार्टी भित्रको पनि सर्वसम्मतिमा आफूले सो जिम्मेवारी पाउन लागेको बताईन् ।
‘म सडकमा कराईरहने मान्छे, सडकमा आवाज उठाईरहने मान्छे, भुईँ मान्छे । आज मैले यो निर्णायक ठाउँमा सबैको सहमतीबाट, सम्मतिबाट मेरो पार्टीबाट पनि र गठबन्धनका विभिन्न पार्टीबाट पनि जुन माया, प्रेम पाए र, यो स्थान पाएँ,' उनले भनिन्, 'मैले आम जनताकोई भलो हुने, देशलाई भलो हुने निर्णायक भूमिका मैले खेल्नेछु भन्ने मेरो विश्वास छ ।’
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन माघ ७ गते (भोली) हुँदैछ ।