ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

झापामा आलुखेतीको क्षेत्रफल बढ्यो

२०७९ माघ, ७  
प्रदेश ०१
Tvs Raider NA

झापा । झापामा यस वर्ष आलुखेतीको क्षेत्रफल बढेको छ । गतवर्षको तुलनामा यस वर्ष आलुखेतीको क्षेत्रफल २०५ हेक्टरले बढेको कृषि ज्ञान केन्द्र झापाको तथ्यांक छ । जिल्लामा गतवर्ष १५ हजार ७८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा यस वर्ष १५ हजार ९८५ हेक्टरमा आलुखेती गरिएको केन्द्र प्रमुख सागर विष्टले जानकारी दिए ।

गतवर्ष जिल्लामा दुई लाख ५७ हजार २२४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ । यस वर्ष आलु उत्पादन बढ्ने अनुमान गरिएको छ । यहाँका स्थानीय तहले आलुखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलुखेती विस्तार हुँदै गएको हो ।

जिल्लाका बुद्धशान्ति, कमल, गौरीगञ्ज गाउँपालिकासहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायत पालिकाले आलुखेती प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् । बिर्तामोडले विगत तीन वर्षयता आलुखेती प्रवद्र्धन गर्दै आएको छ । किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताए । नगरपालिका र किसानको आधा–आधा लागत सहभागितामा यस वर्ष ३८ टन आलुको बीउ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिए ।

प्रतिकठ्ठा ३० केजीका दरले ३३ ओटा समूहलाई आलुको बीउ वितरण गरिएको उनले बताए । बिर्तामोड–६, ७, ८, ९, १० र २ नम्बर वडाका किसानलाई आलुको बीउसँगै आवश्यक औषधिसमेत प्रदान गरिएको छ । किसानलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बीउ वितरण गरिएको छ । आलुखेती प्रवर्द्धन गरिएको पहिलो वर्ष प्रतिकठ्ठा १३–१४ मन, दोस्रो वर्ष ८–९ मन आलु उत्पादन नभएको थियो । यस वर्ष मौसम राम्रो भएको र रोगकीरा नदेखिएकाले प्रतिकठ्ठा १०–१२ मन आलु उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख कडरियाले बताए । जिल्लामा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको ६ महीनामा एक करोड ३४ लाख ५५ हजार ४५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिए । यो नाकाबाट गतवर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गतवर्षको तुलनामा १२ लाख ९१ हजार चार सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांक छ ।

काँकरभिट्टा नाकाबाट भारत, बंगलादेश र भुटानको आलु आयात हुने गरेको छ । भारतबाट सबैभन्दा बढी आलु आयात हुने गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro