चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले न्यूरोमेडिसिन सेवाका लागि ओपीडी टिकट नि:शुल्क गरेको छ । अस्पतालले विशिष्टीकृत सेवा विस्तार गर्ने क्रममा ओपीडी टिकट नि:शुल्क गरेर न्यूरोमेडिसिन सेवा शुरू गरेको हो ।
उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला (ल्याब) र रेडियोलोजी सेवामा ५० प्रतिशत छूट दिइएको अस्पतालले बताएको छ । भारतको एम्सबाट डीएम गरेका न्यूरोलोजिष्ट प्राध्यापक डा. अभयकान्त तिवारी आएसँगै अस्पतालले सो सेवा शुरू गरेको हो । अस्पतालमा लामो समयदेखि न्यूरोमेडिसिन सेवा सञ्चालन हुन सकेको थिएन । अस्पतालबाट अब नसाका विभिन्न समस्याको उपचार हुने बताइएको छ ।