काठमाडौं । भारतको ७५औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासमा चियापान कार्यक्रम सम्पन्न भएको छ । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) केएम करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रूपमा भारतीय सेनाको नेतृत्व सम्हालेको दिनको सम्झनामा भारतीय सेना दिवस मनाइँदै आएको छ । सोही अवसरमा भारतीय दूतावासले नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मालाई प्रमुख अतिथिका रूपमा बोलाएर कार्यक्रम सम्पन्न गरेको हो । समारोहमा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कूटनीतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको ऐतिहासिक सम्बन्ध रहेको बताए । भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।