काठमाडौं । नेपाल उद्योग परिसंघको महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ । परिसंघको केन्द्रीय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मञ्चका पदाधिकारीहरूले ५५० थान बाक्लो कम्बल, ५५० थान ऊनको टोपी, ५५० थान ऊनको मोजा र चिउरा उक्त सामाजिक संस्थाका समुदाय विकास निर्देशक सौरभ रिमाललाई हस्तान्तरण गरेका थिए । ती सामग्री सुनसरीको वराह नगरपालिका वडा नं ४, ६, ७, ८, ९, १०, ११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाउँका मुसहर, मधेशी, जनजाति, पिछडिएका समुदाय र विपन्न परिवारसम्म पुर्याइने परिसंघले जानकारी दिएको छ ।