ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

रसुवागढी नाका पुन: बन्द

२०७९ माघ, ७  
बागमती प्रदेश
Tvs Raider Image Not Found

काठमाडौं । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट ३ वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ । दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वाभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ ।

सामान्य अवस्थामा दुई देशबीच वार्षिक साढे २ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ । तर, चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षमा निकै कमजोर छ । २०७२ सालको भूकम्पपछि थलिएको सिन्धुपाल्चोकको तातोपानी नाका अझै लयमा फर्किन सकेको छैन । भूकम्पअघि वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको कारोबार तातोपानी भन्सारबाट हुन्थ्यो । त्यसबाट सरकारले वार्षिक करीब ६ अर्ब रुपैयाँ राजस्व उठाउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

चालू आर्थिक वर्षको ५ महीनासम्ममा तातोपानी भन्सारबाट ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार अहिले त्यहाँ मासिक औसत २४ करोड रुपैयाँ बराबर राजस्व उठ्ने गरेको छ । ‘अहिले दैनिक तीनओटासम्म कन्टेनरमा चीनबाट सामान आउने गरेको छ । चीनबाट मुख्य गरी स्याउ नेपाल आउँछ । अरू व्यापारिक सामान आएका छैनन्,’ उनले भने । नेपालबाट चीनमा हुने निर्यात खुलाउन ल्हासास्थित नेपाली वाणिज्य दूतावासबाट पहल भइरहे पनि कहिले खुल्ने यकीन नरहेको भन्सार अधिकृत केसी बताउँछन् ।

कुनै समय तातोपानी भन्सार कार्यालय सञ्चालनका लागि ८० देखि ८५ जनासम्म कर्मचारी खटिने गरेका थिए । अहिले १४ जना कर्मचारी मात्रै छन् । २०७२ सालको भूकम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि निकै प्रभावित भएको थियो । अहिले उक्त बजार पूर्णरूपमा बन्द छ । चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ । भौगर्भिक अध्ययनपछि उक्त क्षेत्र मानव बसोवासका हिसाबले असुरक्षित देखिएको भन्दै चीनले बस्ती सारेको हो । अहिले त्यहाँ चिनियाँ सुरक्षाकर्मीको क्याम्पमात्र छ । चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ । खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चासो देखाएको छैन । नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढीभन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबले समेत त्यहाँ उपयुक्त भए पनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ ।

रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । कोभिड महामारीपछि ठप्प प्राय: रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर व्यापारमा उल्लेख्य सुधार देखिँदैन । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करीब १ महीना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ । ‘नेपालबाट अहिलेसम्म करीब ६ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ । चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ,’ भन्सार अधिकृत भण्डारीले भने । चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको उनले जानकारी दिए ।

पलायन भए व्यवसायी
कुनै समय गुल्जार रहने तातोपानी क्षेत्र भूकम्पपछि सुनसान हुँदा त्यहाँबाट व्यवसायी पलायन हुनुपरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउँछन् । ‘त्यहाँको व्यापार, होटेल, पर्यटनलगायतको व्यवसाय ठप्प भएपछि व्यवसायी पलायनको विकल्प रहेन । ठूला व्यापारी मात्र होइन, सानो व्यापार व्यवसाय चलाउने, सवारी चालक, लोड अनलोड गर्नेहरु बेरोजगार भए,’ उनले भने ।

तातोपानी–खासा नाका बन्द भएपछि कैलास मानसरोवर जानका लागि त्यहाँ पुग्ने पर्यटक पनि शून्य भएको श्रेष्ठले बताए । नाका खुलाउन र व्यापार बढाउन नेपालले कूटनीतिक पहल नगर्दा पनि चीनले बेवास्ता गरेको व्यवसायीको बुझाइ छ । ‘भूकम्पपछि बन्द भएको तातोपानी नाका २०७६ जेठमा उद्योगमन्त्री नै गएर उद्घाटन गरेका थिए । तर, पछि कोभिडले फेरि बन्द भयो । पहिले दैनिक सय कन्टेनरसम्म आवतजावत हुने गरेकोमा अहिले मुस्किलले तीनओटा हुन्छ । नाका सहज बनाउन कूटनीतिक रूपमै पहल हुन सकेन,’ उनले भने ।

अन्य नाका अध्ययनमै सीमित
तातोपानी र रसुवागढीबाहेक अन्य वैकल्पिक नाका खोल्ने सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच ७ वर्षअघि सहमतिपत्रमा हस्ताक्षर भइसकेको हो । नेपाल–चीन द्विपक्षीय व्यापारका लागि विभिन्न सात ठाउँमा नाका खुलाउन सम्भाव्यता अध्ययनका लागि २०७२ कात्तिक १९ गते दुई देशबीच सहमति भएको थियो ।

ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, मुस्ताङको कोरला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी र मुगुमा नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्ने उक्त सहमतिपत्रमा उल्लेख छ । सहमतिअनुसार नाका सञ्चालनका लागि सम्भाव्यता अध्ययन भने अझै हुन सकेको छैन । नाका सञ्चालनका लागि सडक सञ्जाल जोड्ने र भौतिक संरचना आवश्यक पर्ने भएकाले त्यस्ता संरचना निर्माणका लागि पनि पहल हुन सकेको छैन । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro