ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

वैदेशिक रोजगार ऐनको संशोधन

२०७९ माघ, ७  
टिप्पणी
Tvs Raider Image Not Found

वैदेशिक रोजगार ऐन–२०६४ संशोधन गर्नुपर्छ भन्ने आवाज उठ्न थालेयता कैयन् वर्ष बितिसकेका छन् । तत्कालीन परिवेशलाई ध्यान दिएर बनेको ऐनको संशोधन हुनुपर्छ भन्ने आवाज उठ्नु स्वाभाविक हो । ऐन बन्नेताका वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या थोरै थियो, त्यतिखेर वैदेशिक रोजगारी अहिलेजस्तो समस्याग्रस्त थिएन । तर, अहिले वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या वर्षमा ६ लाखभन्दा बढी पुगिसकेको छ । वैदेशिक रोजगारीको नाममा पाइलैपिच्छे ठगीमा पर्नेको संख्या बढ्दो छ । त्यसरी ठगीमा पर्नेले सहजै कानूनी सेवा पाउन सकेका छैनन् ।

खासगरी पीडित काठमाडौंमा ठगीमा पर्‍यो भने पीडकको सम्पत्ति जुन जिल्लामा छ, सोही जिल्लाको सम्पत्तिबाट क्षतिपूर्ति दिलाउनुपर्ने ऐनको प्रावधान छ ।  देश संघीयतामा गइसकेको परिप्रेक्ष्यमा वैदेशिक रोजगारीका सेवाप्रदायक सरकारी संयन्त्र काठमाडौंमा केन्द्रित छन्, जबकि अहिलेको आवश्यकता वैदेशिक रोजगारीको चासो स्थानीय तहलाई बढी हुन आवश्यक छ । वैदेशिक रोजगारीका सेवा र संयन्त्र स्थानीय तहबाट प्रदान हुनेबित्तिकै अहिले भइरहेका विकृति, विसंगति न्यूनीकरणमा सहयोग पुग्छ । विद्यमान वैदेशिक रोजगार ऐनमा सुधार गर्नुपर्ने यस्ता तमाम विषय छन् । शायद विद्यमान वैदेशिक रोजगार ऐन कामदारमैत्री छैनन् भन्ने महसूस गरेरै होला प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शुक्रवार उक्त ऐन संशोधन गरी वैदेशिक रोजगारीको व्यवसायलाई पारदर्र्शी बनाउन सरकार तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले वैदेशिक रोजगारीका समस्याप्रति चासो देखाएर समाधान गर्ने प्रतिबद्धता जनाउनु सकारात्मक हो । तर, नेपालको अभ्यास हेर्ने हो भने कामभन्दा कुरा बढी हुने गरेको पाइन्छ । विगतमा पनि जिम्मेवार तहमा रहेका कैयौं व्यक्तिबाट वैदेशिक रोजगारीका समस्या समाधान गर्ने प्रतिबद्धता नआएको होइन । व्यवहारमा भने विप्रेषण पठाएर देशको अर्थतन्त्रलाई सबल बनाउन महत्त्वपूर्ण योगदान गर्नेलाई सहजता प्रदान गर्नेतर्फ खासै काम भएको पाइँदैन । त्यसैले यो सरकारले समस्याको पहिचान गरिसकेपछि समाधानमा पहलकदमी लिनैपर्छ । ऐनमा समस्या छ भन्ने प्रधानमन्त्रीलाई लागिसकेपछि अविलम्ब संशोधन गर्न आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro