यूके(बेलायत) बेलायतका प्रधानमन्त्री ऋषि सुनकले कारमा बस्दा सिट बेल्ट नलगाएको पाइएपछि जरीवाना तिर्नुपर्ने भएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरीवाना गरेको हो।तर उनले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्। तर पनि उनले जरीवाना भने तिर्नुपर्नेछ। उनले यात्राको क्रममा सिटबेल्ट बाँधेको पनि देखिदैन ।
बेलायतमा सिट बेल्ट नलगाउने यात्रुलाई १०० पाउन्ड अर्थात् १६ हजार रुपैयाँभन्दा बढी जरीवाना गर्ने कानूनी प्रावधान छ । यदि मुद्दा अदालतमा पुग्यो भने अदालतते ५०० पाउन्डसम्म जरीवाना गर्न सक्ने बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ । प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला उत्तरी इङ्गल्याण्डको यात्राको क्रममा थिए। त्यसपछि प्रधानमन्त्री सुनकले आफूले बनाएको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए।
उता ब्रिटेनको प्रधानमन्त्री कार्यालयले सुनकले पूर्ण रूपमा आफ्नो गल्ती स्वीकार गरेको र माफी मागेको जनाउँदै उनले जरीवाना तिर्ने बताएको छ। बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरीवाना गरिएको यो दोस्रो पटक हो। गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सन र श्रीमती क्यारीले कोभिड लकडाउनका नियमहरू तोडेको भन्दै जरीवाना गरिएको थियो।
१४ वर्ष वा सोभन्दा बढी उमेरका यात्रुले कार, भ्यान र अरू सवारी साधन रहँदा त्यहाँ सिट बेल्ट लगाउनुपर्ने अनिवर्या नियम छ। उक्त उमेरभन्दा कमका बालबालिकाबारे चाहिँ चालकलाई जिम्मेवार ठहर्याउने गरिएको छ। बीबीसी