ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

हाइड्रोजन कि विद्युतीय गाडी ?

२०७९ माघ, ७  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found

खनिज ऊर्जाले जलवायु परिवर्तनमा भूमिका खेलेको र वातावरणीय क्षति ल्याएको देखिएपछि त्यसको विकल्पमा सबैजसो देशले नीति निर्माण गर्न र तिनलाई कार्यान्वयनमा लैजान थालिसकेका छन् । स्वच्छ ऊर्जा प्रयोग गरेर कार्बन उत्सर्जन शून्यमा झार्ने रणनीति तयार भइरहेको छ । नेपालमा व्यापारघाटा कम गर्न र वातावरण प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिएको छ । साथै, सरकारले नेपालमा हाइड्रोजन ऊर्जाबारे पनि चासो देखाएको छ । नेपालमा यस ऊर्जाबारे प्रारम्भिक बहस शुरू भए पनि अमेरिकालगायत केही देशमा यसबाट चल्ने कारको व्यावसायिक उत्पादन शुरू भइसकेको छ । साथै, हाइड्रोजन ऊर्जाको कारोबार पनि शुरू भइसकेको छ । नेपालमा नेपाल आयल निगमले काठमाडौं विश्वविद्यालयसँग मिलेर यसबारे अनुसन्धान गर्ने काम अघि बढाएको छ । नेपालमा हाइड्रोजन उत्पादन तत्कालै सम्भव त देखिँदैन तर विद्युतीय सवारीभन्दा हाइड्रोजन सवारीको विकल्पमा जानु नेपालका लागि बढी लाभदायी देखिन्छ ।

विश्वका ठूला कार उत्पादकहरूले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन् ।

नेपालमा विद्युतीय सवारीसाधनका लागि बिस्तारै आधार तय हुँदै छ । विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनिरहेका छन् । त्यस्तै सस्तादेखि निकै महँगा गाडीसम्म आयात भइरहेका छन् । गाडी विक्रीको पछिल्लो तथ्यांकले विद्युतीय सवारीको अंश निकै बढी रहेको देखाउँछ । तर, नेपालले विद्युतीय सवारीभन्दा हाइड्रोजनबाट चल्ने सवारीलाई प्राथमिकता दिनुपर्छ र यसका लागि लगानी गर्नु उपयुक्त हुन्छ भन्ने आवाज पनि राम्रैसँग उठेको छ ।

हाइड्रोजन आफैमा ऊर्जाको स्रोत होइन । यो ऊर्जा वाहक मात्र हो । मुख्यत: दुईओटा विधिमार्फत शुद्ध हाइड्रोजन उत्पादन गर्न सकिन्छ : पहिलो विधि हो स्टिम मिथेन रिफर्म विधि । यसमा खनिज इन्धनबाट उत्पादित बिजुली प्रयोग गरी स्टिम मिथेनलाई ७०० देखि १००० डिग्री सेल्सियस तापक्रममा प्रशोधन गरेर शुद्ध हाइड्रोजन उत्पादन गरिन्छ । हाइड्रोजन उत्पादनको दोस्रो विधि इलेक्ट्रोलाइसिस विधि हो । यस विधिमा पानी र बिजुलीको रसायनिक प्रक्रियामार्फत शुद्ध हाइड्रोजन उत्पादन हुन्छ ।

उत्पादन विधि र बिजुलीको स्रोतको आधारमा शुद्ध हाइड्रोजनलाई विभिन्न प्रकारमा विभाजन गरिएको पाइन्छ । यीमध्ये ग्रीन हाइड्रोजन इलेक्ट्रोलाइसिस विधिमार्फत नवीकरणीय ऊर्जाको स्रोत जलविद्युत्, सौर्य र वायुबाट उत्पादित स्वच्छ ऊर्जाको प्रयोगबाट प्राप्त हुन्छ । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भएको र वर्षायाममा बिजुली खेर जान थालिसकेकाले यसको प्रयोग गरेर हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । त्यसैले नेपालमा हरित हाइड्रोजन उत्पादन गर्दा अन्य देशमा भन्दा सस्तो पर्छ । सस्तो हाइड्रोजन निर्यात गर्न सकिन्छ । यस्तोमा विद्युतीय सवारीसाधनभन्दा हाइड्रोजन सवारीसाधनको विकल्प नेपालका लागि उपयुक्त देखिन्छ । विद्युतीय सवारी विश्वभरि नै प्राथमिकतामा परेर यसको प्रविधिमा नयाँनयाँ पक्ष थपिइरहेका छन् । यसको प्रयोग पनि विश्वभरि बढिरहेको छ । यसको दाँजोमा हाइड्रोजनबाट चल्ने गाडी निकै कम छन् ।

दुवै गाडीका बीच तुलना गर्दा दुवैका सकारात्मक र नकारात्पक्ष छन् । विद्युतीय सवारीमा ब्याट्री सजिलै राख्न, चार्ज गर्न र फेर्न सकिन्छ । तर, आयु पुगेको ब्याट्री कसरी डिस्पोज गर्ने भन्ने समस्यामा खासै चर्चा भएको पाइँदैन । ब्याट्री चार्ज गर्नभन्दा निकै छिटो हाइड्रोजन भर्न सकिन्छ । पेट्रोल भर्नभन्दा केही समयमात्रै बढी लाग्छ । तर, हाइड्रोजनको अत्यधिक प्रज्वलनशीलताका कारण यो कम सुरक्षित हुन्छ ।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०२१ मा विश्व बजारमा १२० मिलियन टन हाइड्रोजन उत्पादन भएको छ । उत्पादित हाइड्रोजनमध्ये ७६ प्रतिशत प्राकृतिक ग्यासमा आधारित ग्रे हाइड्रोजन छ । २३ प्रतिशत कोइलामा आधारित ब्ल्याक हाइड्रोजन छ । नवीकरणीय ऊर्जा प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रविधिमार्फत उत्पादित ग्रीन हाइड्रोजन नगन्य छ जसको सम्भावना नेपालमा बढी छ । नेपालले हाइड्रोजन निर्यातसमेत गर्न सक्छ । विद्युत् निर्यात गर्न नसकिने देशमा समेत यो निर्यात गर्न सकिन्छ । वर्षा यामको बिजुलीबाट हाइड्रोजन उत्पादन गरेर भण्डारण गरी हिउँदमा प्रयोग गर्न पनि सकिन्छ ।

टोयोटा, होन्डा, हुन्डाईजस्ता कार निर्माता कम्पनीहरूले हाइड्रोजन कारको विकास गरेसँगै ढुवानीका लागि हाइड्रोजन ट्रकहरू पनि निर्माण हुन थालेका छन् । चीनले सयौंको संख्यामा हाइड्रोजन बसहरू सञ्चालनमा ल्याएको छ । उसले विद्युतीय र हाइड्रोजन दुवैमा लगानी गरिरहेको छ । पेट्रोल उत्पादक राष्ट्रहरूले समेत ग्रीन हाइड्रोजनको उत्पादन र व्यापारमा लगानी गरेका छन् ।  

वार्षिक १ लाख ८७ हजार टन ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यो परिमाणको ग्रीन हाइड्रोजनबाट ७ लाख ५० हजार किलोलिटर पेट्रोलियम पदार्थ विस्थापित गर्न सकिन्छ । त्यस्तै यसबाट हजारौं टन मल उत्पादन गर्न सकिन्छ ।

विश्वका ठूला कार उत्पादकहरूले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन् । जर्मनीका अटोमोटिभ टेक्नोलोजी फर्म कन्टिनेन्टलका विज्ञ डा फेलिक्स ग्रेसले सन् २०३० पश्चात् विश्वमा इलेक्ट्रिक कारको विकल्पका रूपमा हाइड्रोजन कार अघि आउने बताएका हुन् । हाइड्रोजन कार अहिले अनुसन्धानकै चरणमा रहेको हुँदा यो तत्काल प्रयोगमा आउने सम्भावना न्यून भए पनि कालान्तरमा यसकै प्रयोग बढी हुने सम्भावना उच्च छ । इलेक्ट्रिक कारको तुलनामा हाइड्रोजन कारको ‘भ्यालु फर मनी’ उच्च हुने बताइन्छ । त्यसैले विश्व अटो बजार विद्युतीय सवारी निर्माणमा लागिरहेकै समयमा हाइड्रोजन फ्युल सेल कारको पनि तीव्र विकास भइरहेको छ ।

ब्याट्रीको मूल्य महँगो पर्छ । चार्ज गर्न धेरै समय लाग्छ । ड्राइभिङ रेन्ज पनि थोरै हुन्छ । त्यसैले विकल्पका रूपमा कार निर्माताहरूले हाइड्रोजनबाट चल्ने कारलाई समेत विकास गर्न थालेका छन् । हाइड्रोजनबाट चल्ने कार इन्धनबाट चल्नेभन्दा सजिला हुन्छन् र यसमा रेन्जको कुनै सीमा तोकिएको हुँदैन । अहिले विद्युतीय रोजकारको तुलनामा हाइड्रोजन कारको मूल्य चार गुणा महँगो पर्छ । र प्रदूषण कम गर्न भने विद्युतीय भन्दा हाइड्रोजन कार निकै प्रभावकारी मानिन्छ । तर, सुरक्षाका दृष्टिले विद्युतीय कार अब्बल मानिन्छ । नेपालको सन्दर्भमा विद्युतीय कारभन्दा हाइड्रोजन बढी उपयुक्त भए पनि विश्वमा आएको प्रवृत्ति नै पछ्याउनुपर्ने बाध्यता छ । तैपनि हाइड्रोजन ऊर्जाको अनुसन्धान र विकासमा ठूलै लगानी गर्नु भविष्यका दृष्टिले निकै महत्त्वपूर्ण सावित हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro