ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

पर्यटनमन्त्रीले भारतसँग थप हवाई रुट मागे

२०७९ माघ, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।  सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शुक्रवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेको भेटवार्ताका क्रममा मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एकमात्र हवाई मार्गमा अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ । जवाफमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैं सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

नेपालमा अहिले अन्तरराष्ट्रिय उडानका विमान सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेश गर्न सक्ने गरी रुट माग गर्दै आएको छ ।

यसैबीच नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली संघ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्यांकन तत्कालका लागि रोकिएको जनाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो । यसअघि गत अक्टोबरमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो ।  रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro