ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेपाली ओटीटी प्लेटफर्ममा किन बढेन दर्शकको आकर्षण ? 

२०७९ माघ, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ओटीटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तरराष्ट्रियरूपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा छन् ।

नेपालमा समेत विदेशी ओटीटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले ५०० डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै आएका छन् । 

किन बढेन आकर्षण ?

जानकारहरू भने नेपाली ओटीटी प्लेटफर्ममा आफ्नै ‘कन्टेन्ट’ नहुँदा दर्शकको रोजाइमा पर्न नसकेको बताउँछन् । सफलता नपाएपछि केही ओटीटी प्लेटफर्म बन्द नै भएका छन् । यसको उदाहरण हुन्–आइफ्लिक्स र चलचित्र टिभी । 

केहीले भने दर्शकलाई आकर्षण गर्न सब्स्क्रिप्सन खरिदको व्यवस्था हटाएका छन् । नेपालमा सन् २०१६ देखि शुरू भएको एप सिनेमाघरले सब्स्क्रिप्सनको सुविधा हटाएर फिल्म अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । 

अभिनेता, निर्माता, लेखकसँगै पछिल्लो फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बनेका लामिछानेले सिनेमाघर एपसँग सन् २०१८ मा जोडिएका थिए । ‘हामीले नयाँ फिल्म ल्याउँदा दर्शक बढ्छन् । फिल्मले पनि राम्रो आम्दानी गरिरहेका छन्,’ अध्यक्ष लामिछानेले भने, ‘हामीले आफ्नै कन्टेन्ट ल्याउने तयारी गरिरहेका छौं । यद्यपि त्यसको लाइनअप पूरा नहुँदासम्म आँट गरेका छैनौं ।’

उनका अनुसार वार्षिक क्यालेन्डर बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्ने उनको बुझाइ छ । 

केही ओटीटी प्लेटफर्मका सञ्चालक भने ‘पाइरेसी’ले समस्या उत्पन्न भएको बताउँछन् । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन्,’ सञ्चालक अग्रवालले भने ।

‘‘ओएसआर प्ले’ नामक एपको तयारी गरिरहेका सञ्चालक अग्रवालसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्‍याइरहेको छ ।

अध्यक्ष लामिछानेले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ,’ उनले भने । 

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फणिन्द्र कटवालले जानकारी दिए । ‘ओटीटीसम्बन्धी कार्यविधि बनाएर नै हामीले काम अगाडि बढाउने सोच बनाएका छौं,’ उनले भने । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro