ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

७० वर्षमा पनि माटोका भाँडा बनाउने काममा रमाएका गाजुराम

२०७९ माघ, ७  
समाचार लुम्बिनी प्रदेश
Tvs Raider Image Not Found

दाङ । दाङको गढवा गाउँपालिका–३ पत्रेङ्गाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेसामा सक्रिय छन् । माघ महीनाको जाडोको पर्वाह नगरी उनको दैनिकी माटो मुछ्ने र भाँडा बनाउनेमै बित्छ ।

उनी विगत पाँच दशकदेखि यो पेसामा आबद्ध छन् । गजुराम मात्र नभई उनका सात भाइ छोराले पनि यो पेशामा साथ दिएका छन् । ‘विदेश गएरभन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो फलदायी हुन्छ भनेर छोराहरूलाई यही पेसामा लगाएको छु,’ उनले भने ।

‘यही पेसाबाट आम्दानी गरेर परिवार पाल्न सकिने हुनाले काम छाडिएको छैन,’ उनले थपे, ‘बाबुबाजेदेखि छोरासम्म कसैको जग्गाजमीन नभए पनि माटोको भाँडा बेचेर धेरै पुस्ताको गुजार चलेको छ ।’ 

गाजुरामसहित छोराबुहारी पनि घैंटा, भुर्की, ठेकी, गमला, खुत्रुुके, पालालगायत भाँडा बनाउन व्यस्त देखिन्छन् । यिनै भाँडा बेचेर महीनामा रू. १० हजारदेखि १५ हजारसम्म आम्दानी गरिरहेको गाजुरामले सुनाए ।

छोराहरूले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने उनी बताउँछन् । कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवा गाजुरामको परिवारले गाउँभरिमा सबैले भन्दा धेरै भाँडा बनाउने गर्छन् ।

हाल उक्त गाउँमा करीब ३५ घरपरिवार कुमाल छन् । उनीहरू सबैले माटोका भाँडा बनाएर बेच्ने पेशा गरेका छन् । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा विक्री केही कम भएको उनी बताउँछन् ।

विद्यालय पढेका युवायुवती भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थपे, ‘पढायो पढायो, काम गरभन्दा मान्दैनन्, पढे लेखेकाहरू माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन् ।’ 

गाजुरामका छोराहरूले पढेका छैनन् । उनी भन्छन्, ‘छोराहरूले पढेका भए मैले पनि माटोका भाँडा बनाउने थिइनँ कि ?’ -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro