ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कृषि विकास बैंक ५६ औं वर्षमा,  कृषि क्षेत्रको मुख्य बैंक बन्नुपर्छ  : अर्थमन्त्री पौडेल    

२०७९ माघ, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं। कृषि विकास बैंक स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।     
     
बैंकको ५६औं वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने बताए । उनले पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्दै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा देख्न पाइयोस भने ।

अर्थमन्त्री पौडेलले बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने बताए ।साथै उनले अहिले रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कस्तो व्यक्ति आउँछ भन्नेकुरा बैंकको भविष्यसँग जोडिएको बताए। 

अहिले बजारमा उपलब्ध सबैभन्दा राम्रा व्यवस्थापकमध्येबाट प्रमुख कार्यकारी अधिकृत चयन गरिने उनको भनाइ छ । सरकारको लगानी रहेका बैंकमध्ये कृषि विकास बैंकमा तुलनात्मक रुपमा बढी समस्या देखिनुमा बैंकको व्यवस्थापकीय नेतृत्व प्रमुख कारण रहेको मन्त्री पौडेलको भनाइ छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रमुख बैंकका रुपमा केन्द्रीत गरिनुपर्ने बताए । कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीका बाटो खोल्नुपर्ने उनको भनाइ छ ।   बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत शेयर सरकार र ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । बैंकमा संस्थापक शेयरधनीका रुपमा सरकारको ६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको ६ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबर शेयर छ ।     
     
कृषि विकास बैंकले हालसम्म १ लाख ६२ हजार ग्राहकमा १ खर्ब ७८ अर्ब रुपैया कर्जा लगानी गरेको बताएको छ । यस्तै बैंकमा १८ लाख निक्षेपकर्ताको १ खर्ब ७० अर्ब रुपैया निक्षेप छ । बैंकको अधिकृत पूँजी २५ अर्ब रुपैया, जारी पूँजी १८ अर्ब ६२ करोड ६ लाख रुपैया र साधारण चुक्ता पूँजी १३ अर्ब १८ करोड रुपैया बराबर छ ।

चालू आर्थिक वर्ष २०७९/ ८० को अन्त्यसम्ममा कर्जा तथा सापट करीब २ खर्ब १ करोड र कुल निक्षेप  १ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ वृद्धिमार्फत वैधानिक कर्जा–पूँजी–निक्षेप अनुपात ९० प्रतिशतभित्र कायम गर्ने लक्ष्य बैंकले लिएको छ ।

 त्यस्तै चालू आर्थिक वर्षको छ महीना अवधिमा बैंकको तरलता अनुपात १५ दशमलव २७ प्रतिशत र निष्क्रिय कर्जा १ दशमलव ६८ प्रतिशत रहेको बैंकले बताएको छ । आर्थिक वर्ष २०७८/ ७९ का लागि कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर शेयरधनीलाई दिने निर्णय गरिसकेको छ ।  सरकारको नीति तथा कार्यक्रमअनुसार ब्याज अनुदान सहुलियत कर्जा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बैंकले बताएको  छ ।

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवालाई परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जालगायत क्षेत्रको कर्जालाई प्राथमिकतामा राखिएको बैंकले बताएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro