ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सुनकोशीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

२०७९ माघ, ८  
बागमती प्रदेश
Tvs Raider NA

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रू. पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षाघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो ।

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएकालाई औषधोपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार गाउँपालिकाले मासिक रू. ५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । गाउँपालिकाले बिरामीको खातामा त्रैमासिक रूपमा पैसा जम्मा गर्न थालेको छ । अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए ।

मेरुदण्डको पक्षाघातबाट पीडित भएकी सुनकोशी–५ की सरिता थामीले पनि उपचारका लागि मासिक रूपमा रू. ५ हजार स्थानीय सरकारबाट पाउँदा खुशी लागेको बताइन् । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम तथा मानसिक रोगबाट पीडितलाई नि:शुल्क औषधि उपलब्ध गराउने भएको छ । गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्रै सबै बिरामीको घर–घरमै औषधि पुर्‍याउन गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro