ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

१२० रोपनीमा कफीखेती शुरु,  खेतीसँगसँगै ‘धनकुटा कफी’ पनि बजारमा        

२०७९ माघ, ८  
प्रदेश ०१
Tvs Raider Image Not Found
फाइल फोटो

धनकुटा । डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ ।

यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती शुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । १ करोड ५० लाख रुपैयाँको लागतमा १२० रोपनीमा कफीखेती शुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट प्याकेजिङ कफीको शुरुआत गरिएको सञ्चालक टीकाराम दर्नालले जानकारी दिए।     
     
२५० ग्रामको बजार मूल्य ६५० रुपैयाँ पर्ने अरबिका जातको आग्र्यानिक कफी बजारमा ल्याइएको उनले जानकारी दिए । महोत्सवमा राखिएको यो कफी सबैले मन पराएर खाएको सञ्चालक दर्नालले सुनाए । हाल २ लाख ५० हजार रुपैयाँको लगानीमा २०० केजीबाट परीक्षण उत्पादन शुरु गरिएको अर्का सञ्चालक युवराज दर्नालले जानकारी दिए।     

उनले आफ्नो खेतीको पूर्ण उत्पादन प्रशोधन गरेर बजारमा ल्याउन १ करोड ५० लाख रुपैयाँ लगानीको आवश्यकता रहेको भए पनि लगानी अभावका कारण अहिले काठमाडौंमा प्याकेजिङ गरेर कफी बजारमा ल्याउनुपरेको दर्नालले दुःखेसो गरे।     
     
हाल १५ टन चेरी (फल कफी) उत्पादन गरेर पाचमेन (बोक्रो उकाएको कफी) तयार पारेर काठमाडौं पठाउने जानकारी दिंदै उनले इन्डस्ट्रिजले अबको दुई वर्षमा २५ टनभन्दा बढी उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए ।     
     
एनआईसी एशिया बैंकको १० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ५ लाख रुपैयाँ, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको ४४ लाख रुपैयाँ र बाँकी निजी लगानीमा कफीखेती गरेको इन्डस्ट्रिजले वार्षिक ३० लाख रुपैयाँ बराबरको चेरी (दाना कफी) बेच्ने गरेको छ ।     
     
हाल लगानी वर्ष चलिरहेकाले वार्षिक ४५ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको बताउँदै सञ्चालक युवराजले अबको दुई वर्षपछि भने ३ करोड रुपैयाँ बराबरको चेरी उत्पादन गरेर विक्री गर्ने जानकारी दिए । रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro