ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

रुकुमपूर्वको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण सकियो, स्थानीयले कहिले पाउलान् विद्युत् सेवा ?

२०७९ माघ, ८  
समाचार
Tvs Raider Image Not Found
प्रतीकात्मक तस्वीर ।

रुकुमपूर्व । जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको ५ मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो ।

आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षण केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकल अन्तर्गतको केही काम बाँकी रहँदा परीक्षण दुई सातापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिए । 

उनका अनुसार पावरहाउसभित्रको दुई ओटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा सात दिन लाग्ने भएको छ । त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकल अन्तर्गतको दुई ओटा रनर, दुई ओटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ ।

यति काम सकिएको खण्डमा माघको २० गतेको आसपास आयोजनाको परीक्षण कार्य शुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताए । रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च रू. १ अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम शुरु भएको यस आयोजनाको काम सन् २०२३ को शुरुआतमै सकिएको हो ।  

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको ५ मेगावाट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ । सबस्टेसनमा जोडेपछि स्थानीयले विद्युत् सेवा पाउनेछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro