ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण शुरू

२०७९ माघ, ९  
लुम्बिनी प्रदेश
Tvs Raider Image Not Found

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशनको निर्माण शुरू भएको छ । गाउँपालिकामा विद्युतीकरणका लागि वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणका लागि छुट्ट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम शुरू गरेको उनले बताए ।

विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर ‘साइट क्लियर’ भएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताए । ‘निर्माण कम्पनीका प्रतिनिधि निर्माणस्थलमा आउनुभएको छ, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ । अब निर्माण अघि बढ्छ,’ अध्यक्ष गिरीले भने ।

एशियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको सबस्टेशन अबको २२ महीनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रसहित वरपर हाल बर्दघाटस्थित सबस्टेशनबाट विद्युतीकरण गरिएको छ । टाढाबाट ल्याइएको प्रसारण लाइनका कारण समस्या हुने गरेको अध्यक्ष गिरीले बताए ।

लो भोल्टेजसहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकोमा दुम्कीबासमा सबस्टेशन निर्माणपछि ती समस्या समाधान हुने उनले बताए । ‘अहिले धेरै समस्या झेल्नुपरेको छ, तारमात्रै टाँगिएको छ । लो भोल्टेजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने स्थिति छ । अब चाँडै ती समस्या समाधान हुनेछन्,’  उनले भने ।

गाउँपालिकाभित्रका वडा नं ३ र ५ मा अझै विद्युतीकरण भएको छैन । पालिकाभित्रका सबै क्षेत्रमा सहज रूपमा विद्युतीकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष गिरीले बताए । यी वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतीकरणसहित लघु जलविद्युत् आयोजनाबाट विद्युतीकरण गरिएको छ । यद्यपि समस्या धेरै रहेकाले समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उनको भनाइ छ ।

सबस्टेशन निर्माण पालिकाको भविष्यसँग समेत जोडिएको अध्यक्ष गिरीले बताए । ‘लो भोल्टेज हुँदा घरायसी उपभोक्तासहित उद्योगले समस्या झेलिरहेका छन् । भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योग आउन खोजिरहेका छन्, तर विद्युत् छैन । सबस्टेशन बनेपछि औद्योगीकरणमा सहयोग त पुग्छ नै, उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ,’ उनले भने । दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण भएपछि मध्यविन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहज हुने बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro