ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

दादुरा नियन्त्रण गर्न घरघरमा खोप अभियान सञ्चालन गरिने

२०७९ माघ, ९  
लुम्बिनी प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका केही वडामा दादुरा फैलिएको छ । सोही प्रकोप अवलोकन गर्न नेपालगञ्ज पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले यसलाई नियन्त्रण गर्न अब घरघरमा खोप अभियान सञ्चालन गरिने बताएका छन् ।

शनिवार बेलुका नेपालगञ्ज पुगेका मन्त्री गिरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलसहितको टोलीले आइतवार दिनभर बाँकेका विभिन्न क्षेत्रको अवलोकन गरेको छ । टोलीले दादुरा प्रकोप फैलिएको नेपालगञ्जको वडा नं ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रको अवलोकन गरेको थियो । त्यसपछि भेरी अस्पताल र खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गर्‍यो ।

अवलोकनपछि मन्त्री गिरीले बाँकेमा दादुरा प्रकोप नियन्त्रणका लागि राम्रो काम भएको भन्दै खोप अभियानलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘दादुरा फैलिएको क्षेत्र मात्र नभएर अब घरघरमा पुगेर खोप अभियान सञ्चालन गर्छौं ।’ मन्त्रालयको तर्फबाट आवश्यक उपकरण र सामग्री उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उनले बताए ।

यसैगरी मन्त्री गिरीले सिकलसेलका बिरामीका लागि पनि आफूले पहल कदमी चाल्ने बताए । सिकलसेलका बिरामीका लागि स्वास्थ्य बीमा प्रभावकारी नभएको भन्दै उनले बीमालाई प्रभावकारी बनाइने बताए ।

मन्त्री गिरीले भेरी अस्पतालमा रहेको डायलासिस कक्षको पनि उद्घाटन गरेका छन् । अस्पतालमा यसअघि डायलासिस मेशिन चारओटा मात्र थियो । आइतवार मन्त्री गिरीले आठओटा डायलासिस मेशिन भएको कक्षको उद्घाटन गरेका हुन् । नयाँ सरकारले नागरिकलाई सहज रूपमा स्वास्थ्यको पहुँचमा पुर्‍याउन विशेष योजनासहित काम गर्ने उनले बताए ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव डा. पोखरेलले भेरी अस्पताललाई केन्द्रीयस्तरको अस्पतालको रूपमा स्तरोन्नति गर्र्ने काम अघि बढेको बताए । उक्त अस्पतालको भौतिक पूर्वाधारदेखि स्वास्थ्यकर्मीको दरबन्दीको काम अन्तिम चरणमा पुगेको भन्दै उनले गृह मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro