नेपाल उद्योग वाणिज्य महासंघले आज सोमवार साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले साना तथा मझौला उद्यमी सम्मेलनको आयोजना गर्दै छ । अर्थतन्त्रको विस्तारमा यस्ता उद्योगको भूमिका निकै ठूलो हुने भए पनि सरकारी सेवासुविधा भने पाउन सकिरहेका छैनन् ।
विकसित अर्थतन्त्र होस् या विकासशील सबै अर्थतन्त्रमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने र अर्थतन्त्र विस्तार गर्नेमा साना तथा मझौला उद्योगको भूमिका ठूलो हुन्छ । साना तथा मझौला उद्योगले रोजगारी सृजनामा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशत योगदान दिने गरेको बताइन्छ । त्यस्तै यिनले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान दिएको र करीब १७ लाख रोजगारी सृजना गरेको बताइन्छ । अहिले हस्तकलाका क्षेत्रमा मात्रै १० लाखभन्दा बढीले रोजगारी पाएको देखिन्छ । त्यस्तै यही वर्गमा पर्ने पर्यटन क्षेत्रमा पनि १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बताइन्छ ।
तर, सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई राहत दिन दिएको सुविधा यस खाले उद्योगले पाएनन् । पुनर्कर्जाको लाभ लिन नपाएको गुनासो पनि सरकारले सुनेन । साना तथा मझौला उद्यमीले बैंकिङ सुविधासमेत पाउन गाह्रो रहेको बताइन्छ । उनीहरूलाई ऋण लिने प्रक्रिया नै थाहा नहुने, बैंकले पनि उनीहरूलाई त्यति प्राथमिकता नदिने हुँदा साना तथा मझौला उद्यमीहरू वित्तीय पहुँचबाट वञ्चित हुने गरेका छन् । हातमा क्षमता भएर पनि बजारीकरण गर्न नसक्दा कैयौं साना उद्यमीको लगानी र मेहनत खेर गएको छ । त्यस्तै परम्परागत प्रविधिलाई नयाँ प्रविधि र बजारसँग जोड्न नसक्दा पनि उनीहरू पछाडि परिरहेका छन् । त्यसैले राज्यले साना तथा मझौला क्षेत्रलाई वित्तीय, प्राविधिक र बजार निर्माणमा सहयोग गर्नुपर्ने देखिन्छ ।