काठमाडौं । सुपर मादी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । यी बाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ विक्री अवधि छिटोमा माघ १२ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २३ गतेसम्म विक्री अवधि लम्बिने जानकारी कम्पनीले दिएको छ ।
पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा छिटो अवधि माघ १२ गतेसम्म मात्र कम्पनीको आईपीओ विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी रेटिङ प्रदान गरेको छ ।
कम्पनीको परिचय :
जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्ने उदेश्यका साथ यस कम्पनी २०६५ साल माघ ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०६९ साल मंसिर १८ गतेदेखि सञ्चालनमा रहेको छ । कम्पनीको रजिष्ट्रार कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको छ । आवश्यकता अनुसार स्वीकृति लिई कम्पनीको रजिष्टर्ड कार्यालय परितर्वन गर्न र नेपाल भित्र वा विदेशमा शाखा कार्यालय खोल्न सकिने जानकारी कम्पनीले दिएको छ ।
यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदिको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । २०७५ साल जेठ ८ गतेदेखि निरन्तर रुपमा यस आयोजनको निर्माण कार्य भरहेको छ । २०७८ साल जेठ २८ गतेदेखि यो आयोजनाबाट व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिईएको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोभिड तथा बाढी पहिरोका कारण हालसम्म यस आयोजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
आयोजनको प्रतिमेगावाट लागत निर्माण अवधिको व्याज सहित १८ करोड ९७ लाख ७२ हजार ७२७ रूपैयाँ हुने अनुमान गरिएको छ । कुल लागत भने ८ अर्ब ३५ करोड रूपैयाँ पुग्ने अनुमान कम्पनीको छ । यस योजनाको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष ६ महिना रहेको छ । हाल कम्पनीमा २८६ जना संस्थापक शेयरधनीहरू रहेका छन् ।
पूँजी संरचनाः
कम्पनीको अधिकृत पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी पनि २ अर्ब १० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ७८ करोड ५० लाख कायम रहेको छ । सर्वसाधारण तर्फको शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीमा संस्थापक तर्फ ८५ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।
सर्वसाधारणतर्फ रहेको १५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा ५ प्रतिशत र वैदेशिक रोजगारीमा गएका नेपाली कामदार, कर्मचारीहरू तथा सामूहिक लगानीकोष समेत सर्वसाधारण १० प्रतिशत शेयर छुट्याईएको छ । सर्वसाधारणमा आईपीओ विक्रीबाट संकलित पूँजी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनाको निर्माण कार्यका लागि खर्चिने जानकारी कम्पनीले दिएको छ ।
वित्तीय अवस्था :
कम्पनीको वास्तविक वित्तीय अवस्थाको वारेमा चर्चा गर्दा आर्थिक वर्ष २०७७/ ०७८ सम्मको वित्तीय विवरणलाई लिनुपर्ने हुन्छ । कम्पनीले उक्त वर्षसम्मको वित्तीय अवस्थालाई वास्तविक भएको बताएको छ । सो अवधिसम्म कम्पनी २५ लाख १९ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रूपैयाँ ८० पैसा रहेको छ ।
चालू आर्थिक वर्षभित्र कम्पनीले १३ करोड १५ लाख १० हजार रूपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षभित्र प्रतिशेयर नेटवर्थ १०६ रूपैयाँ २६ पैसा र प्रतिशेयर आम्दानी ६ रूपैयाँ ३८ पैसा पुर्याउने प्रक्षेपण समेत कम्पनीको छ ।
सञ्चालक समिति :
यस कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । कम्पनीको अध्यक्षमा पुष्प ज्योति ढुङ्गाना रहेका छन् । ढुङ्गानासँग २० वर्षभन्दा बढी जलविद्युत् तथा अन्य व्यवसायिक क्षेत्रमा काम गरेको अनुभव छ । सञ्चालकहरूमा रघुनाथ पुरी, मित्र प्रसाद काफ्ले, बाबुराम थापा र धनराज आचार्य रहेका छन् । सञ्चालकहरूमा समेत जलविद्युत् तथा अन्य क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । कम्पनीको सञ्चालक समितिमा भएका व्यक्तिहरूको कार्य अनुभवलाई हेर्दा बलियो सञ्चालक समिति रहेको देखिन्छ ।
कम्पनीको शेयरले पहिलो कारोबारका लागि कति पाउला मूल्य ?
प्राथमिक बजारमा विक्री भएको शेयर कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपर्दछ । कम्पनीले प्राथमिक बजारमा विक्री गरेको शेयर कारोबारका लागि दोस्रो बजारमा सूचीकृत गराउँनेछ । धितोपत्र दोस्रो बजार सञ्चालन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको शेयर सूचीकृत पछि पहिलो कारोबारका लागि मूल्य तोक्ने गर्दछ ।
नेप्सेले कुनै पनि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने व्यवस्था छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा प्रतिकित्ता न्यूनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २९९ रूपैयाँ ४ पैसासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि पाउने देखिन्छ ।