ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सरकारलाई संसदीय समितिको निर्देशन– समयमै विद्यालयले पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउनू

२०७९ माघ, ९  
समाचार
Tvs Raider Image Not Found
दिगो विकास तथा सुशासन समितिको सोमवार सिंहदरबारमा बसेको बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस
author avatar अभियान संवाददाता

काठमाडौं । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमवार सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । 

सम्बन्धित मन्त्रालय र मातहतका निकायहरूसँग गहन छलफल गरी समयमा विद्यालयहरूले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । ‘सम्बन्धित निकायसँग गहन छलफल गरियो । र, आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  माननीय शिशिर खनालज्यू, मन्त्रालय र सम्वद्ध निकायलाई निर्देशन जारी गरेका छौं,’ उनले भने । 

बैठकमा विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले गत वर्ष कक्षा १० को स्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अब त्यस्तो नगर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । 

प्रधानाध्यापक कँडेलले कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जीटूजी विधि अपनाउँदा उपयुक्त हुने सुझाव समेत दिए । 

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको बताए । उनले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी दिए । 

जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईका लागि थप मेसिनको पनि व्यवस्था गरिएको जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro