धनुषा । भारतमा अपहरणपछि हत्या गरिएका जनकपुरका दुई युवकका परिवार, आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय, धनुषामा विरोध प्रदर्शन गरेका छन् । अपहरणबारे प्रहरी–प्रशासनलाई जानकारी दिँदा पनि चासो नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।
१४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो । मृतक दुवैजना एकै परिवारका हुन् ।
भारतको सीतामढी जिल्लाको बेला परिहारमा नातेदारको घर गएका बेला दुवै जना अपहरणमा परेका थिए । त्यसपछि अपहरणकारीले उनीहरूको परिवारसँग फिरौती रकम माग गरेका थिए । अपहरणकारीले फिरौती रकम माग गरेपछि प्रहरीलाई खबर गरेको परिवारको दाबी छ । त्यसको केही समयपछि भारतीय सीमा गाउँमा उनीहरूको शव भेटिएको थियो ।
गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको मृतकका आफन्तले जनाएका छन् । शुरुमा अपहरणकारीले परिवारसँग २० लाख रुपैयाँ मागेको उनीहरूको भनाइ छ । मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।
मृतकका मामा मुकेशकुमार साहले प्रहरीकहाँ अपहरणमा परेको रिपोर्ट दिए पनि चासो नदिएको आरोप लगाए । उनले जिल्ला प्रहरी कार्यालय, धनुषाको लापरबाहीका कारण दुई जनाले ज्यान गुमाउनुपरेको बताए ।
उनले प्रहरीले पीडित पक्षले रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भएको भन्दै झुटो कुरा गरिरहेको दाबी गरे । उनले अपहरणकारीले पठाएको अडियो रेकर्ड प्रहरीलाई दिएको बताए ।