ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

डिजिटल बन्दै सर्वाेच्च : सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयनसम्बन्धी सफ्टवेयरको शुभारम्भ

२०७९ माघ, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सर्वाेच्च अदालतले सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयनसम्बन्धी सफ्टवेयरको शुभारम्भ गरेको छ । गत शुक्रवार सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयनसम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वाेच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । यसको निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी दिए । 

सर्वाेच्चमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरूको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताए । त्यस्तै पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको पनि उनले उल्लेख गरे । 

कामु प्रधानन्यायाधीश कार्कीले अदालतहरूमा रहेका अभिलेख मिसिलहरूलाई डिजिटाइजेशन गर्न शुरु गरिएको बताए । अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरूलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उनले जानकारी दिए । 

‘अदालतहरूमा रहेका अभिलेख मिसिलहरूको डिजिटाइजेशन गर्ने कार्यको थालनी गरिएको छ । यसलाई परियोजनाकै रूपमा प्राथमिकतापूर्वक कार्य गर्न आवश्यक बजेटको विनियोजन भएको अवस्थामा अदालतहरूमा हाल रहेका करिव ३६ लाख मुद्दाका मिसिल कागजहरुको स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गर्ने सोच रहेको छ । त्यसो हुन सकेमा मिसिल कागजातहरू सुरक्षित रहने र ति कागजातहरूमा कुनै पनि अदालत तथा माथिको अदालतबाट पनि सहजरूपमा मिसिल कागजात प्राप्त गर्न सक्ने अवस्था रहन्छ । यसले माथिल्लो अदालतले मिसिल मगाउन लाग्ने समय तथा लागत बचत भई समयमै न्याय सम्पादन हुनसक्ने, सरोकारवालले आफ्नो नजिकको अदालतमा गएर आफ्नो मिसिलमा रहेको फैसला लगायतका कागजातका प्रतिलिपि प्राप्त गर्नसक्ने अवस्था सिर्जना गर्छ,’ उनले भने । 

कामु प्रधानन्यायाधीश कार्कीले सर्वाेच्च अदालतले सूचना प्रविधिसम्बन्धी विभिन्न प्रकारका प्रणालीहरूको प्रयोगले कार्य सम्पादनमा सहजता ल्याएको बताए । उनले यसबाट मुद्दाका पक्षहरू र अदालतलाई कार्य सम्पादनमा सहज भएको बताए । 

‘सूचना प्रविधिसम्बन्धी विभिन्न प्रणालीहरू तथा सफ्टवेयरहरूले न्यायपालिकाको कार्यसम्पादनमा सहजता र सरलता ल्याएको छ । मुद्दा व्यवस्थापनका लागि तयार भएको एकीकृत मुद्दा व्यवस्थापन प्रणालीको प्रयोगले मुद्दा व्यवस्थापनको प्रत्येक चरणलाई सरल, व्यवस्थित र पारदर्शी बनाएको छ । साथै यस प्रणालीमार्फत सेवाग्राहीहरुले आफ्नो मुद्दामा भएको कामा, कारबाही लगायतको समग्र प्रक्रियाको अवस्थाको जानकारी अनलाइनबाटै लिन सकिने अवस्था समेत सिर्जना भएको छ,’ उनले भने । 

उनले न्यायपालिकाको सूचना प्रविधिको स्तर तुलनात्मक रूपमा सन्तोषजनक रहेको उल्लेख गरे । सफ्टवेयरमा कैद, जरिवाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ । 

कार्यक्रममा सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाले सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयनसम्बन्धी सफ्टवेयरले फैसला कार्यान्वयन प्रभावकारी हुने बताए । 

‘उक्त सफ्टवेयरको माध्यमबाट मुद्दाका सम्बन्धित पक्षहरूको प्रचार, निजको दण्ड जरिवानालगायत कुरा एकीकृत रुपमा हेर्न सकिने भएकाले यसले फैसला कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro