ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेपालको आयात ३ महीनायताकै न्युन र निर्यात उच्च, 'पेट्रोलियम आयातमा परिमाण घट्यो, रकम बढ्यो'

२०७९ माघ, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा नेपालको वैदेशिक व्यापारमा आयात पछिल्लो ३ महीना यताकै न्युन भएको छ । तर, निर्यात व्यापार भने पछिल्लो ३ महीना यताकै उच्च भएको पाइएको छ ।

६ महीनाको समग्र व्यापार भने गत वर्षको सोही अवधिको तुलनामा आयात २० प्रतिशतले र निर्यात ३२ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो ६ महीनामा ७ खर्ब ९२ अर्ब रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा भने यस्तो आयात १० खर्ब रुपैयाँ बराबरको रहेको थियो ।
चालू आवमा कुल आयात २० दशमलव ६८ प्रतिशतले घटेको हो ।

नेपालले यो अवधिमा ८० अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात  गरेको छ । गत आवको सोही अवधिमा भने नेपालको निर्यात १ खर्ब १८ अर्ब रुपैयाँ भन्दा बढी रहेको थियो । चालू आवको पहिलो ६ महीनासम्ममा निर्यात व्यापार ३२ प्रतिशतले घटेको छ ।

गत महीनासम्म नेपालको आयात ६ खर्ब ६४ अर्ब र निर्यात ६७ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

पुसमा मात्र नेपालले आयात गरेको वस्तु १ खर्ब २७ अर्ब ९१ करोड र निर्यात गरेको वस्तु १३ अर्ब ५० करोड रुपैयाँ बराबर हो । जुन पछिल्लो ३ महीना यताकै आयात सबैभन्दा कम र निर्यात सबैभन्दा बढी हो ।

नेपालले मंङ्सिरमा १ खर्ब ३२ अर्ब रुपैयाँको आयात र १२ अर्ब ५३ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो । त्यस्तै कात्तिकमा नेपालको आयात १ खर्ब ३१ अर्ब  र निर्यात १२ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

नेपालले आयातमा खर्चिने ठूलो रकम खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थमा जान्छ । जसमा नेपालले पहिलो ६ महीनाको अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ खर्चेको छ । गत वर्षको सोही अवधिमा भने नेपालले १ खर्ब  २५ अर्ब रुपैयाँ खर्चिएको थियो । नेपालले खाना पकाउने ग्यास, डिजेल, पेट्रोल र हवाई  इन्धनको आयातमा गत वर्षको भन्दा १८ अर्ब रुपैयाँ बढी खर्चेको छ । तर परिमाण भने घटेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले आयात गर्दा बाहिरिने रकम बडेपनि परिमाण भने घटेको हो ।

नेपालले चालू आवको पहिलो ६ महीनामा २८ अर्ब २० करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ७० अर्ब १० करोड रुपैयाँ बराबरको डिजेल, ११ अर्ब २४ करोड रुपैयाँ बराबरको हवाई इन्धन र ३३ अर्ब ५३ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा भने २९ अर्ब २३ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ६१ अर्ब ४७ करोड रुपैयाँ बराबरको डिजेल, ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको हवाई इन्धन र २९ अर्ब २७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरेको थियो ।

नेपालले यो वर्ष आयात गरेको पेट्रोल ३ लाख ३४ हजार ३१५ किलोलिटर, डिजेल ५ लाख ५० हजार ९०२ किलोलिटर, हवाई इन्धन ८७ हजार ८८५ किलोलिटर र खाना  पकाउने ग्यास २४ करोड ७७ लाख ९० हजार ४५६ केजी रहेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ८ लाख ३० हजार २७३ किलोलिटर डिजेल, २६ करोड ४६ लाख ४ हजार ५९८ केजी ग्यास र ३ लाख ७१ हजार ८२० किलोलिटर पेट्रोल आयात गरेको थियो । हवाई इन्धनको तथ्याङ्क (२३ लाख ४६ हजार ८१६ किलोलिटर) भने सही देखिदैन । 

नेपालले गत वर्षको भन्दा २ लाख ७९ हजार ३७१ किलोलिटर डिजेल, १ करोड ६८ लाख १४ हजार १४२ केजी ग्यास र ३७ हजार ५०५ किलोलिटर पेट्रोल कम आयात गरेको छ । तर यसवापत जाने रकम भने १८ अर्ब रुपैयाँले बढेको छ ।

सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएका कारण समग्र आयात २० प्रतिशतले घटेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro