नेपालमा लगभग १८ सय हिमाल रहेको मानिन्छ । तीमध्ये अहिलेसम्म ४१४ ओटा हिमाल मात्रै आरोहणका लागि नेपाल सरकारले खोलेको छ । यो भनेको लगभग २३ प्रतिशत हो । सरकारले घोषित रूपमै आरोहण गर्न प्रतिबन्ध लगाएका केही हिमालमध्ये माछापुच्छ्रे पनि एक हो । माछापुच्छ्रे हिमालको उचाइ ६ हजार ९ सय ९३ मीटर रहेको छ । इतिहास हेर्दा शुरूदेखि नै माछापुच्छ्रे हिमाल आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थिएन । सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम बेलायती पर्वतारोही टोलीले गरेको देखिन्छ । (स्रोत : डाक्टर हर्क गुरुङद्वारा लिखित ‘विषय विविध पाना–८६ ।)
उक्त टोलीले बाटो खोज्ँजाने क्रममा पञ्चेनीवराह नजिकको तोमोँखर्कभन्दा माथि ‘दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज छ’ भन्ने थाहा भयो । त्यसैकारण त्यसभन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामकरण गरेका हुन्, बेलायती पर्वतारोही टोलीले । गुरुङले लेखेअनुसार सोही बेलायती पर्वतारोही टोलीले नै सन् १९५७ मा फेरि पनि माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रयास गर्यो । उक्त वर्ष बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालको शिरभन्दा ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भयो । उनमा आफूले चढ्न नसकेको हिमालमा अरू नगए हुन्थ्यो भन्ने व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन कुरो उक्त टोलीका सदस्य पर्वतारोही तथा कवि बिल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट स्पष्ट हुन्छ । आफूले माया गर्ने हिम शिखर (चुली) लाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो भनी गुरुङले थप लेखेका छन् ।
माछापुच्छ्रे आरोहण गर्न निषेध गरेको धेरै समयपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षक राखेर पोखरावासीहरूको विचारलाई समाचार बनाएर रेडियो नेपालमा प्रसारण गरेको थियो । त्यसरी प्रसारण भएको समाचारमा अधिकांश पोखरावासीले त्यो बेला माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएकाले खोलिनु हुन्न भनेका थिए, केहीले अध्ययन गर्नुपर्छ भनेका थिए भने, केहीले सम्बद्ध गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल, स्थान वा स्थलहरू पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु तर्कसंगत, न्यायसंगत, वास्तविक तथ्य र वैज्ञानिक ढंगले अध्ययन गर्दा सही ठहरिएला ? आजभोलिको जमानामा त्यसो गर्नु अव्यावहारिक हुन्छ कि ? कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।
गण्डकी प्रदेश सरकार बनेपछि तत्कालीन प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो रायसुझाव दिइसकेको छ । आजभोलिका पोखरेलीहरूसँग फेरि पनि माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठीक कि, आरोहणका लागि खुला गर्नु ठीक ? भनी दोहोर्याएर प्रश्न गरेमा, बहस र छलफल चलाएमा कमै पोखरेलीहरूले मात्रै ‘माछापुच्छ्रे हिमाललाई निषेध गरेरै राखौं, किनभने, माछापुच्छ्रे हिमाल पवित्र छ, सुन्दर छ,’ भन्लान् ?
खासमा संघीय सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीका लागि आरोहण गर्न खुला गर्दा राम्रो हुन्छ । माछापुच्छ्रे हिमालले गण्डकी प्रदेशको विकासको ढोका खोल्छ । महत्त्वपूर्ण कुृरो भनेको माछापुच्छ्रे हिमाल अन्य हिमाल हेरेर सुगम स्थानमा छ, नजिक छ, आकर्षक र अति सुन्दर पनि छ । उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्त्वपूर्ण भनेको यो हिमाल हालसम्म कसैले चढेका छैनन् । साथै यो क्षेत्रमा अन्नपूर्ण संरक्षण आयोजनाले लामो समयदेखि जैविक विविधताको संरक्षण गर्ँआएको छ, नयाँ बाटोघाटो बनाएको छ । माछापुच्छ्रे हिमाल आरोहणका लागि खुला गर्नेबित्तिकै सबैथोक नाश भइहाल्छ भन्ने चिन्ता लिनु पर्दैन । माछापुच्छ्रे आरोहण खुला गरेपछि रोजगारीको अवसर र स्थानीय बासिन्दाका लागि आय आर्जनको बाटो पनि खुल्ने देखिन्छ ।
त्यस्तै माछापुच्छ्रे आरोहणका लागि खुलेमा गण्डकी प्रदेश नेपालको आर्थिक, पर्यटकीय, मनोरञ्जन तथा बिदा मनाउने हबका रूपमा विकसित हुने निश्चित छ । किनकि, माछापुच्छ्रे हिमाल नयाँ, आकर्षक, मानव बस्तीबाट वा भनौं बजार क्षेत्रबाट सबैभन्दा नजिक रहेको, हालसम्म कसैले पनि चढ्न नपाएको तथा ‘कुमारी’ हिमाल भएको भन्ने पर्यटन क्षेत्रमा सम्बद्घ रहेकाहरूलाई दोहोर्याएर बुझाइ रहनै पर्दैन । नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि तत्कालै माछापुच्छ्रे हिमाल आरोहण खुला गरेमा गण्डकी प्रदेशमा विदेशी तथा स्वदेशी पर्यटकको आगमन अहिलेभन्दा दुई/तीन गुणाले बढ्ने देखिन्छ । पर्यटन बढेसँगै आर्थिक क्रियाकलाप, मनोरञ्जनात्मक कार्यक्रम, सभा, सम्मेलन, बैठक, विवाह उत्सव आदि आयोजना गर्ने, बिदा मनाउने उद्देश्यले आउने बाह्य तथा आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा विकसित भएर बिस्तारै नेपालका सात प्रदेशमध्येकै धनी प्रदेशका रूपमा उदाउनेछ, गण्डकी प्रदेश । अझ त्यसमा हालै शुरू भएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले पनि पोखराको समग्र गण्डकी प्रदेशको विकासमा टेवा दिने देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।