ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

५ महीनाको शिशुदेखि ४० वर्षकोसम्मलाई दादुरा

२०७९ माघ, ११  
समाचार स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं ।  नेपालगञ्जमा पुस १२ देखि फैलिएको दादुराबाट ५ महीनाको शिशुदेखि ४० वर्षको व्यक्तिसम्म प्रभावित भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले गत शनिवार अस्पतालमा ३५ देखि ४० वर्षसम्मकी महिलामा पनि दादुरा देखिएको बताए । बाँकेमा दादुरा प्रकोप फैलिनुमा खोपको पहुँच, जनचेतना अभाव र भौगोलिक कठिनाई प्रमुख कारण भएको रिसालको दाबी छ । हालसम्म त्यहाँ दादुराबाट संक्रमित हुनेको संख्या २६५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार दादुराबाट बाँकेका पाँच स्थानीय तह प्रभावित भएका छन् । बाँकेको सदरमुकाम नेपालगञ्जमा सबैभन्दा बढी दादुराका बिरामी भेटिएका छन् । सोमवारसम्म नेपालगञ्जको १८ ओटा वडामा २०५ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालयले बताएको छ । डा. रिसालका अनुसार नरैनापुरको तीनओटा वडामा २६ जना, खजुराको चारओटा वडामा १८ जना, डुडुवाको एउटा वडामा १० जना, कोहलपुरको चारओटा वडामा ६ जनामा दादुरादेखिएको हो ।  

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप निरीक्षक जनक गिरीले बाँकेमा ५ महीनाको बच्चादेखि युवासम्मलाई दादुरा देखिएको बताए । गिरीका अनुसार पुस १२ मा बाँकेको नेपालगञ्जको वडा नं ५ मा पहिलो पटक दादुरा संक्रमणका बिरामी भेटिएका थिए ।

बाँकेमा नियमित खोप वितरण भइरहे पनि धेरैजसो बालबालिकाले दादुरा विरूद्धको खोप नलगाएको पाइएको भेरी अस्पतालका अधिकारीहरू बताउँछन् । ‘खोप नलगाएका कारण छोटो समयमा नै दादुराले नेपालगञ्जमा महामारीको रूप लिएको स्वास्थ्य कार्यालयको प्रारम्भिक निष्कर्ष छ,’ गिरीले भने ।

बाँकेमा अहिले दादुरा प्रकोप नियन्त्रणका लागि स्थानीय तहका साथै विभिन्न संघ संस्थाको सहकार्यमा खोप अभियान शुरू गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको खोप शाखाका अनुसार मंगलवारसम्म २९ ओटा खोप केन्द्रबाट ६ महीनादेखि १५ वर्षसम्मका ७९ हजार ९३५ जनाले दादुरा विरूद्धको खोप लगाइसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ७ हजार २२० जना बालबालिकाले खोप लगाएका छैनन् ।

नेपालगञ्ज उप महानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामबहादुर चन्दले नेपालगञ्जमा दादुराको पहिलो केस देखिने बित्तिकै महामारी घोषणा गरेर जनचेतनाको कार्यक्रम शुरू गरिएको बताए ।

नेपालगञ्जमा खोप अभियान शुरू भएसँगै संक्रमितको संख्या घट्दो क्रममा रहेको चन्दको भनाइ छ । चन्दका अनुसार नेपालगञ्जको वडा नं ५ मा दादुराका कारण ३१ महीनाको बच्चाको मृत्यु भएको छ । मंगलवारसम्म नेपालगञ्जको १८ ओटा वडामा दादुराबाट संक्रमित हुनेको संख्या २०५ छ ।

खजुरा गाउँपालिकाका अधिकृत दिपक ढकालले खजुरामा पुस ३ बाट दादुरा र रूबेला विरूद्धको खोप अभियान शुरू गरिएको बताए । मंगलवारसम्म खजुराको चारओटा वडामा १८ जनामा दादुरा देखिएको छ ।

ढकालका अनुसार दादुरा नियन्त्रणका लागि खजुरामा सचेतनाका कार्यक्रमहरू सञ्चालनमा छन् । यसैबीच शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले जुनसुकै उमेर समूहकालाई पनि दादुरा देखिन सक्ने बताए ।

दादुरा विरूद्धको खोप लगाएका अधिकांशलाई दादुरा नदेखिने उनको भनाइ छ ।

खोप लगाए पनि दादुरा विरुद्धको एन्टीबडीमा ह्रास भएमा खोप लगाएकालाई पनि दादुरा रोग लाग्न सक्ने उनको भनाइ छ । विगतमा टेकु अस्पतालमा युवालाई पनि दादुरा देखिएको पुनले बताए । ‘दादुरा विरुद्धको खोप अहिले पनि उत्तिकै प्रभावकारी मानिन्छ,’ पुनले भने, ‘तर कुनै पनि खोपले शतप्रतिशत नै काम गर्छ भन्ने हुँदैन ।’

सरकारले सन् २०२३ भित्र दादुरा र रुबेला निवारणको लक्ष्य लिए पनि वर्षको शुरूमा नै प्रकोप देखिएकाले दादुरा निवारण गर्न सरकारलाई झनै चुनौती थपिएको जानकारहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro