ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकको पहिचान : नियमनमा हुने विलम्बले अर्थतन्त्रमा जोखिम

२०७९ माघ, ११  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found

सन् १८५० मा तीनजना दाजुभाइ मिलेर जर्मनीमा खोलेको र पछि विकसित हुँदै अमेरिकाकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट बैंक बनेको ‘लेहम्यान ब्रदर्स’ जब सन् २००८ मा टाट पल्टियो, त्यसपछि अमेरिकामा धेरैओटा वित्तीय संस्था एकपछि अर्को धराशयी हुँदै मात्र गएनन्, अपितु त्यसले विश्वव्यापी वित्तीय संकट निम्त्याउन प्रमुख कारकको भूमिकासमेत निर्वाह गर्‍यो । टाट पल्टँदा यो कम्पनीसँग करीब ६ खर्ब डलर सम्पत्ति हुनुका साथै २८ हजारभन्दा बढी कर्मचारी कार्यरत थिए ।

नियामकीय भूमिकाका अतिरिक्त यस्ता बैंक स्वयंले पनि प्रणालीगत जोखिम नियन्त्रण गर्न उपयुक्त अतिरिक्त आन्तरिक प्रक्रिया एवं कार्यपद्धतिका साथै जोखिम व्यवस्थापनसम्बन्धी प्रभावकारी संयन्त्रको विकास तथा कार्यान्वयन गरेको हुनुपर्छ ।

यसको पतनले एकातिर तरलताको चरम संकट सृजना गर्‍यो भने अर्कोतिर देशको वित्तीय एवं आर्थिक स्थिरताप्रति अन्य वित्तीय संस्थाहरूको ‘आत्मविश्वास’ माथि पनि गहिरो चोट पुर्‍यायो । परिणामस्वरूप कर्जा संकुचन हुन पुग्यो, लगानी घट्यो, बेरोजगारी बढ्यो र घरजग्गा एवं शेयर मूल्यमा अस्वाभाविक ह्रास आयो । आर्थिक मन्दीले समग्र अर्थतन्त्र नै डगमगाउन थालेपछि त्यसको स्थिरताका लागि सरकारले अर्बौं डलर खन्याएर अर्थतन्त्रलाई उद्धार गर्नुपरेको थियो ।

यो घटनाले पनि कुनै पनि ठूलो बैंक असफल भयो भने त्यसले देशको बैंकिङ प्रणालीमाथि नै आम रूपमा अविश्वास सृजना गरी निक्षेपकर्ता एवं लगानीकर्ता नै हतोत्साही भई अन्ततोगत्वा त्यसले बैंकिङ क्षेत्रलाई मात्र धराशयी बनाउँदैन अपितु समग्र अर्थ एवं वित्तीय प्रणालीमाथि नै गम्भीर प्रभाव पार्छ भन्ने स्पष्ट हुन्छ ।

फेरि ठूला बैंकहरू अन्य वित्तीय संस्थाहरू तथा अन्य देशसँग पनि अन्तरसम्बद्ध हुन सक्छन् । यसरी अन्तरसम्बन्ध भएको वित्तीय संस्था प्रत्यक्ष रूपमा असफल हुँदा समग्र अर्थव्यवस्था नै धराशयी हुन सक्छ । यस अर्थमा यसले विश्वव्यापी असरसमेत देखापर्न सक्छ । ठूला बैंकहरूको पतनको दूरगामी (डोमिनो) प्रभाव अन्य वित्तीय संस्थाहरूमा देखिएर तिनीहरू पनि पतनको मार्गतर्फ नै अग्रसर हुन्छन् ।

यसरी जुन वित्तीय संस्थाको असफलताले समग्र आर्थिक एवं वित्तीय क्षेत्रमा नै अस्थिरताको सृजना हुन्छ त्यस्तो बैंक तथा वित्तीय संस्थालाई ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण वित्तीय संस्था’का रूपमा बुझ्न सकिन्छ ।

त्यसैले यस्ता ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’हरूलाई असफल हुनबाट जोगाउन सरकारले नै आवश्यक कदमहरू उठाउने गर्छ । केही वर्षअघि नेपालमा पनि विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरेर दुई ठूला सरकारी बैंकहरूको अवस्थामा सुधार गरिएको थियो ।

सन् २००७/२००८ को विश्व आर्थिक संकटपछि त झन् यस्ता संस्थाको पहिचानको आवश्यकता अझ टड्कारो रूपमा महसूस गरियो । परिणाम स्वरूप वित्तीय स्थायित्वसम्बन्धी बोर्ड (फिनान्सियल स्टाबिलिटी बोर्ड) ले पहिलोपटक नोभेम्बर २०११ मा विश्वव्यापी रूपमा महत्त्वपूर्ण बैंकहरूको सूची सार्वजनिक गरेको थियो । यसको ठीक १ वर्षअघि बासेल समितिले पनि यस्ता बैंकको पहिचानलाई नै प्राथमिकतामा राखी पूँजी–संरचनासम्बन्धी निर्देशिका जारी गरेको थियो ।

उक्त निर्देशिकाअनुसार कुनै बैंकहरूको वर्गीकरण गरी जुन बैंकहरूले समष्टिगत रूपमा देशको अर्थ प्रणालीमाथि प्रत्यक्ष प्रभाव पार्छन् त्यस्ता बैंकहरूको पहिचान गरी तिनलाई ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ भनी पहिचान गर्न केन्द्रीय बैंकमार्फत सम्बद्ध देशले उपयुक्त संरचनाको विकास गर्नुपर्छ । उक्त संरचनाअनुरूप पहिचान गरिएका यस्ता बैंकहरूलाई ‘घरेलु प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ भनिन्छ भनेर पनि बुझ्न सकिन्छ ।

बैंकको आकार, कारोबार एवं स्वामित्वको जटिलता, कारोबारको क्षेत्र (आन्तरिक एवं अन्तरदेशीय), विभिन्न संस्थासँगको सम्बद्धता, प्रतिस्थापनको अवस्था आदिको आधारमा यस्ता बैंकहरूको पहिचान गर्ने गरिन्छ । तर, यहाँ के कुरा बिर्सनु हुँदैन भने प्रणालीगत रूपमा महत्त्वपूर्ण भनी पहिचान गरिए पनि यस्ता बैंकहरू स्वयं नै देशको आर्थिक एवं वित्तीय प्रणालीका लागि अहिले नै जोखिमपूर्ण भने मानिन्नन् । अपितु प्रणालीगत रूपमा उच्च महत्त्व धारण गर्ने संस्थाहरूको रूपमा मात्र तिनलाई बुझ्न सकिन्छ ।

कुनै एक बैंकको वासलातको आकार वित्तीय क्षेत्रको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी भयो भने त्यस्ता बैंकलाई ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ मान्नुपर्ने अन्तरराष्ट्रिय अभ्यास पनि देखिन्छ ।

अन्यत्रको अभ्यास
भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ले गतवर्ष स्टेट बैंक अफ इन्डिया, आईसीआईसीआई, एचडीएफसी, बैंकलाई ‘घरेलु प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’का रूपमा पहिचान गरेको घोषणा गरेको थियो ।

विश्वव्यापी रूपमा हेर्ने हो भने जेपी मोर्गन बैंकलाई विश्वव्यापी रूपमा सबैभन्दा महत्त्वपूर्ण बैंकको रूपमा पहिचान गरिएको छ । दुई महीनाअघि मात्र वित्तीय स्थायित्त्व बोर्ड (एफएसबी)ले सार्वजनिक गरेको यो वर्षको महत्त्वपूर्ण ३० बैंकहरूको सूचीमा यस्तो देखिएको हो ।

जापानमा भने यस्ता बैंकहरूको तनाव परीक्षण अन्तरराष्ट्रिय मुद्राकोषले नै गर्ने गरेको छ तापनि बैंक अफ जापानले करीब ९ महीना अघि १० ओटा बैंकहरूलाई ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक’ भनी पहिचान गरेको छ । चीनमा चाहिँ ‘राष्ट्रिय बैंकिङ प्राधिकरण’ले नै यस्तो बैंकको पहिचान गर्ने गरेको छ । अमेरिकामा पनि केन्द्रीय बैंकले १९ ओटा यस्ता बैंकहरू पहिचान गरी तिनको सूक्ष्म र निकट निगरानीको व्यवस्था गरेको छ ।

पहिचान पछिको दायित्व
यसरी प्रणालीगत रूपमा महत्त्वपूर्ण भनी पहिचान भएका बैंकहरूले अन्य बैंकहरूले पालना गर्नुपर्ने नियम तथा निर्वाह गर्नुपर्ने दायित्वका अतिरिक्त अन्य कतिपय थप प्रावधानहरूसमेत परिपालना गर्नुपर्छ ।

साथै यस्ता बैंकलाई नियामक निकायले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा अपेक्षाकृत निरन्तर तथा बारम्बार अनुगमन तथा सुपरिवेक्षणसमेत गर्नुपर्छ । त्यस्ता बैंकहरूले पारदर्शितालाई उच्च प्राथमिकतामा राखी अन्य बैंकहरूको तुलनामा बढीभन्दा बढी तथ्यांकहरू सार्वजनिक गर्नुपर्ने दायित्व पनि वहन गर्नुपर्ने हुन्छ ।

यी बैंकहरूले पूँजी पर्याप्तताको अतिरिक्त अनुपात कायम गर्नुपर्ने, घाटा सहन सक्ने क्षमतालाई चुस्त कायम गर्नुपर्ने, आकस्मिक रूपमा आइलाग्न सक्ने संकट समाधान गर्ने क्षमता विकसित गर्नुपर्ने, त्यसका लागि आवश्यक योजना बनाउनुका साथै त्यस्तो योजनाको आवधिक मूल्यांकनसमेत गर्नुपर्ने हुन्छ । नियामकीय भूमिकाका अतिरिक्त यस्ता बैंक स्वयंले पनि प्रणालीगत जोखिमलाई नियन्त्रण गर्न उपयुक्त अतिरिक्त आन्तरिक प्रक्रिया एवं कार्यपद्धतिका साथै जोखिम व्यवस्थापनसम्बन्धी प्रभावकारी संयन्त्रको विकास तथा कार्यान्वयन गरेको हुनुपर्छ ।

यिनै सन्दर्भमा नेपालमा पनि २०७६/७७ को मौद्रिक नीतिमा यस्ता बैंकको पहिचान गरी त्यस्ता बैंकका लागि छुट्टै नीति निर्देशनअनुसार सञ्चालन गर्ने कुरा उल्लेख गरिएको थियो । तापनि यस्ता बैंकहरूको पहिचानपछि माथि उल्लेख गरिएझैं निर्वाह गर्नुपर्ने विभिन्न दायित्वको कारणले हुनसक्छ नेपालमा अहिलेसम्म आधिकारिक रूपमा यस्ता बैंकहरू घोषणा गरिएका छैनन् । बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिएर ठूलाठूला बैंकहरूको जन्म हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा तिनको सफलता र असफलतासँग देशको समग्र अर्थतन्त्र नै निर्भर हुँदै गरकाले अब छिट्टै नै यस दिशामा सम्बद्ध निकायले पाइला चाल्नु अपरिहार्य देखिन्छ ।

लेखक बैंकर हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro