ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सामूहिक कृषि–कर्ममा रमाउंँदै चितवनका थारू महिला 

२०७९ माघ, ११  
बागमती प्रदेश
Tvs Raider Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्लाको माडी नगरपालिका–१, गर्दीको कृषक समूहमा आवद्ध थारू महिला कृषि–कर्ममा सक्रिय हुन थालेका छन् । केही वर्षअघिसम्म घरको चुलो चौकामा व्यस्त हुने उनीहरू अहिले फरक काममा रमाउन थालेका हुन् । 

गर्दीमा बसोवास गर्नेमध्ये ५५ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्न व्यावसायिक कृषि कर्ममा जुटेका छन् । सामूहिकरूपमा हाँस, लोकल कुखुरा, माछापालनसँगै च्याउ र केरा खेती गरेर उनीहरू राम्रो आम्दानी लिन सफल भएका छन् । र, व्यावसायिक काममा पनि पुरूषभन्दा अब्बल हुन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् । 

महिलाहरूले कृषि–कर्मका लागि थारू महिला कृषक समूहसमेत खोलेका छन् । त्यही समूहबाट मल तथा बीउबिजन ल्याउने, शीप सिक्ने र विक्री वितरण गर्ने गरेको समूहकी अध्यक्ष हीरामणि गुरौले बताइन् । ‘पहिला समूहमा ९४ जनासम्म सहभागी थियौं । अहिले कति साथीहरू अन्य व्यवसाय र घरको काम भनेर निस्कनुभयो,’ उनले भनिन्, ‘अहिले समूहमा ५५ जना छौं । तर, जति छौं उतिचाहिंँ सक्रिय छौं ।’ 

उक्त समूहको फार्ममा ५०० हाँसका चल्ला छन् । एक हजार चल्ला हाल्ने तयारी भए पनि अत्यधिक जाडोका कारण ५०० मात्रै हालिएको र जाडो कम भएपछि थपिने योजना रहेको उनी बताउँछिन् । 

यससँगै उनीहरूले च्याउ खेती पनि थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने गरेकाले च्याउ खेती थालेको उनले बताइन् । शुरूमा काम गर्न नजान्दा समस्या भए पनि प्राविधिकहरू ल्याएर काम सिकेपछि अहिले सहज भएको उनको भनाइ छ । 

थारू समुदायको बाहुल्यता रहेको यस गाउँका हाँस, कुखुरा तथा माछा किन्नका लागि ग्राहकहरू फार्ममै आउने गरेका छन् । अर्गानिक उत्पादन भएकोले अहिले मागअनुसार हाँस पु¥याउन नसकिएको समूहकी अध्यक्ष गुरौको भनाइ छ । 

उक्त समूहले हाँसदेखि माछा पाल्ने संरचना बनाउन साढे ८ लाख रुपैयाँ खर्च गरेको छ । अध्यक्ष गुरौका अनुसार संरचना बनाउनका लागि माडी नगरपालिकाबाट र स्थानीय जनसहभागिताबाट गरी ८ लाख ५४ हजार ३४८ रुपैयाँको लागतमा हाँस, कुखुरा तथा माछा पाल्ने संरचनाहरू बनाइएको छ । 

उनले संस्थाको आम्दानीबाट समूहलाई आवश्यक संरचनाहरू बनाउन खर्च गरिएको बताइन् । माडी–१ का पूर्ववडाअध्यक्ष कृष्ण पौडेलको उत्प्रेरणा र समन्वयका कारण आफूहरू संगठित भएर कृषि–कर्ममा जोडिएको समूहकी अध्यक्ष गुरौले बताइन् ।

सामूहिकरूपमा काम गरेमा काम गर्न सहज हुनुका साथै थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘पहिला यहांँका महिला घरमै बस्थे, घाँस–दाउराका लागि जंगल जान्थे, माछा मार्न खोला जान्थे । अहिले उनीहरूको दैनिकी फेरिएको छ,’ गुरौले भनिन् । आगामी दिन यस कर्मलाई थप व्यवसायिक र विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro