ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानी समकक्षी बिलावल भुट्टोलाई दिए भारत आउने निम्तो

२०७९ माघ, ११  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । भारतले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारी भारत आउने निम्तो दिएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले मेमा गोवामा हुन गइरहेको यूरोसेयिन राजनीतिक, आर्थिक, अन्तरराष्ट्रिय सुरक्षा र प्रतिरक्षा संगठन ‘सांघाई सहयोग संगठन’ (एससीओ)को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि पाकिस्तानी समकक्षी भुट्टोलाई  निम्तो पठाएका छन् । 

अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार जयशंकरले इस्लामावादमा रहेको भारतीय उच्चायोगमार्फत यो निमन्त्रणा पठाएका हुन् । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हालै भारतलाई इमानदार वार्ताका लागि निम्तो दिएका थिए । पाकिस्तानले भारतसँगको सम्बन्धलाई वार्ताको टेबलमै बसेर सच्याउन खोजेको सकारात्मक संकेतपछि यो निमन्त्रणा पठाइएको हो । 

शाहबाज सरिफले हालै संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणका क्रममा एउटा अन्तरवार्तामा भारतसँग तीन युद्ध लडेर पाठ सिकेको बताएका थिए । पत्रिकाका अनुसार जरदारीको भारत भ्रमणको मितिबारे छलफल भइरहेको छ । उनी मे ४ वा ५ मा भारत आउन सक्ने हल्ला चलेको छ । 

जरदारीले निमन्त्रणा स्वीकार गरे भने यो विगत १२ वर्षमा पाकिस्तानी विदेशमन्त्रीको पहिलो भारत भ्रमण हुनेछ । यसअघि सन् २०११ मा हिना रब्बानी खार भारत आएकी थिइन् । 

सांघाई सहयोग संगठनमा भारत र पाकिस्तानबाहेक चीन, रुस, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान छन् । यो बैठकका लागि चीन, रुसलगायत मध्य एसियाका अन्य देशका विदेशमन्त्रीलाई पनि निमन्त्रणा पठाइएको छ । तर, भारतको तर्फबाट पाकिस्तानलाई निमन्त्रणा पठाउनुलाई धेरै महत्त्वपूर्ण अर्थमा हेरिएको छ ।

दुई देशबीचको सम्बन्ध अहिले निकै चिसो भएको छ । द्विपक्षीय सम्बन्ध अहिले इतिहासकै सबैभन्दा तल्लो स्तरमा झरेको छ । 

भारतले अहिले ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार पाकिस्तानसँग छिमेकी देशसँग हुने सामान्य समबन्ध बनाउन चाहने एक शीर्ष अधिकारीले बताएको भन्दै इन्डियन एक्सप्रेसले छापेको छ । पाकिस्तान र आफ्नो बीचमा कुनै पनि समस्या भएमा यसलाई शान्तिपूर्ण तवरले आतंक र हिंसामुक्त वातावरणमा सुल्झाउनु पर्ने भारतको स्थाई नीति भनेको ती अधिकारीले बताएका छन् । 

भारतले आफ्नो राष्ट्रिय सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा कुनै सम्झौता नगर्ने र भारतको सुरक्षा र क्षेत्रीय अखण्डतालाई नकारात्मक असर पार्ने प्रयासलाई सामना गर्न कठोर र निर्णायक कदम चाल्ने स्पष्ट पारिसकेको छ । यस्तोमा आतंक र हिंसामुक्त वातावरण तयार पार्ने जिम्मेवारी पाकिस्तानको भएको विश्लेषण गरिएको छ । 

गएको ८ वर्षमा भारत पाकिस्तानबीचको सम्बन्ध अति नै खराब बनेको छ । यसअघि सन् २०१५ मा सुष्मा स्वराज विदेशमन्त्री हुँदा पाकिस्तानी समकक्षी सरताज अजीजलाई भारत आउने निम्तो पठाएकी थिइन् । तर, सम्भावित भेटघाटबारे विवाद भएपछि भ्रमण रद्द भयो । 

गएको महीना संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा भारतले परिषद्को स्थायी सदस्य बन्ने प्रस्ताव गरेपछि जयशंकर र जरदारीबीच भनाभन भएको थियो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जरदारीले गुजरातका कसाई भनेका थिए । सन् २०१६ मा पठानकोट र सन् २०१९ मा पुलवामामा मा आतंकवादी आक्रमणपछि दुई देशबीचको सम्बन्ध निकै खराब बनेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro