ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

५ महीनामा एउटै गाउँपालिकाका २२१ जना बसाइँसरे, 'गाउँ नै रित्तिने खतरा  !'

२०७९ माघ, ११  
समाचार र यो पनि
Tvs Raider Image Not Found

बलेवा । बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महीनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महीनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् ।

गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । आठ ओटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए । 

बिहुँबाट मात्रै पाँच महीनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट पाँच महीनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ ।

गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं ५ र ६) मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउँछन् । 

“अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ”, थापा भन्छन्, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पुर्‍याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ ।” 

काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट पाँच महीनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिए । वडा नं १ पालाबाट दुई परिवारका आठ, वडा नं २ भीमापोखराबाट छ परिवारका १८, वडा नं ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं ७ रेशबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । 

बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । “कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ”, कँडेलले भन्नुभयो, “वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ ।” गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् । 

“उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ”, उपाध्यक्ष थापा भन्नुहुन्छ, “हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन् ।”

गाउँपालिकामा पछिल्लो पाँच महीनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताए । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा पाँच परिवारका १६ जना, वडा नं ६ बिहुँमा तीन परिवारका पाँच जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका पाँच जना र वडा नं ८ मा दुई परिवारका दुई जना गाउँ फर्किएका छन् । 

बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउँछन् ।

“अर्को पाँच महीना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो”, थापाले भने, “बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो ।” यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने विक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ ।

बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । “यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पुर्‍याएर फर्किएको छु, गाउँ त खाली हुने भए”, यातायात व्यवसायी तेजेन्द्र नेपाली भन्छन्, “पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन् ।”

जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् । 

जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । “दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भने ।
-तारानाथ आचार्य/रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro