असार ३१ देखि बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन हुँदै

Share News

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जेठ २२ गते हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको कम्पनीले शुक्रवार हकप्रद शेयर निष्कासनको मिति तय गरेको हो ।

बुक क्लोजका आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आगामी साउन १९ गतेसम्म मात्र कम्पनीको हकप्रद शेयर निष्कासनमा रहनेछ । 

कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको आधारमा सोही बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको एक कित्ता शेयर भएका शेयरधनीहरूले एक कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ कायम हुनेछ ।

हकप्रद शेयर निष्कासनका प्रयोजनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।