काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना २४ दिनदेखि ठप्प छ । १४ मीटर मात्रै खन्न बाँकी रहेको उक्त आयोजनाको मुख्य सुरुङमा फागुन ६ गतेदेखि काम हुन सकेको छैन ।जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माणाधीन उक्त सुरुङमार्गमा नियमित काम नहुँदा समय लम्बिनुका साथै निर्माण कम्पनीलाई थप रकम तिनुपर्ने देखिएको छ । २०७७ सालदेखि आयोजना प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. १ र २ का स्थानीयले विभिन्न माग राख्दै पटकपटक आयोजनाको काममा अवरोध गर्दै आएका छन् । फलस्वरूप निर्माण कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनले ‘आइडल’ बसेको भन्दै क्षतिपूर्ति दाबी गर्ने अवस्था आएको आयोजनाका एक अधिकारीले बताए ।
‘नियमित रूपमा काम गर्ने कामदार र उपकरण उपयोगविहीन हुँदा कम्पनीले त्यसलाई आइडल मानेर जति दिन काम हुन नसकेको हो, त्यत्ति दिनको क्षतिपूर्ति दाबी गर्छ,’ आयोजनाका ती अधिकारीले भने, ‘विभिन्न समयमा काम नभएको क्षतिपूर्ति दाबी गरेको छ, अहिले प्रतिदिन करीब १ करोड रुपैयाँ आसपास क्षतिपूर्ति दाबी गर्ने भनेको छ ।’
आफूहरूले २०७७ देखि नै मागहरू राखेको र अहिलेसम्म सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको स्थानीय गोपी सुर्खेतीले बताए । नागढुंगा सुरुङमार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका सुर्खेतीले चन्द्रागिरि १ र २ वडामा पानीका मुहान सुकेको, जमीन धसिएको र १५० घर चर्किएको बताए । यसका साथै सुरुङमार्गमाथिको जमीनको मुआब्जा सम्बन्धमा समेत उचित व्यवस्था हुनुपर्ने उनले बताए ।
‘बिहीवार १ बजे सिंहदरबारमा छलफलका लागि ढाकिएको छ,’ सुर्खेतीले भने, ‘त्यो छलफलपछि काम गर्न दिने/नदिने यकीन हुनेछ ।’ स्थानीयले काम अवरोध गरेपछि समस्या समाधानका लागि निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका साथै अन्य अधिकारीले नियमित रूपमा छलफल गरेका थिए । तर, निष्कर्ष ननिस्कँदै मन्त्री परिवर्तन भएपछि अहिले नवनियुक्त मन्त्री रघुवीर महासेठसँग समय मिलाउने तयारी भएको आयोजनाका ती अधिकारीले बताए ।
सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुन: जग्गाको मुआब्जा माग गरेपछि समस्या समाधान चुनौतीपूर्ण रहेको अर्काे एक स्थानीयले बताए ।
यसैगरी आयोजनाका सिनियर डिभिजन इन्जिनीयर गोविन्द दुमरूले अहिले आयोजनाका काम रोकिँदा कामदार बेरोजगार भएको बताए । आयोजनामा जापानी कम्पनीका कर्मचारीदेखि नेपाली कर्मचारी/कामदार गरेर ५०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । कोरोना भाइरस र अन्य समस्याले आयोजनाको म्याद १ वर्ष थपेर २०२४ अप्रिल २४ सम्म पुर्याइएको छ । ‘यो थपिएको म्यादमा समेत काम सकिने छाँट छैन,’ दुमरूले भने, ‘मुख्य सुरुङमार्गको ब्रेकथ्रुमा ढिलाइ भएको छ ।’ उनका अनुसार आयोजनामा हालसम्म ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भएको उक्त सुरुङमार्ग ४२ महीनामा सम्पन्न गर्ने गरी निर्माण शुरू भएको थियो ।