काठमाडौं । आगमी चैत १ देखि भृकुटीमण्डपमा ४ दिने २५ औं फ्लोरा एक्स्पो आयोजना गरिने भएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले सोमवार (आज) प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा हुन लागेको उक्त एक्स्पोको सह–आयोजकमा पुष्प विकास केन्द्र रहेको बताइएको छ ।
‘स्वच्छ वातावरणका तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नारा रहेको उक्त प्रदर्शनीमा ६० ओटा प्रदर्शनी स्टल, ३ ओटा ल्यान्डस्केपिङ स्टल, ८ ओटा अफिसियल स्टल, १–१ ओटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र फूड स्टल रहने प्रेस विज्ञप्तिमा उल्लेख छ छ ।
पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, उत्पादन विक्री वितरण गर्न, पुष्प व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
एक्स्पोको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहबाट गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।