राति सुत्दा एउटा सरकार थ्यो, बिहान उठ्दा भत्किएर अर्कै भएछ । कुनै पनि नाटक विना रिहर्सल र विना निर्देशक हुँदैन भन्छन् । तर देशमा सरकार फेरिएको नाटकको को हो प्रोड्युसर ? को हो डिरेक्टर ? कसैलाई पनि थाहा भएन ।
सरकार फेरिएसँगै खुसी हुने र दु:खी हुने अनुहार फेरिएका छन् । मिडियाले घेर्ने मानिस पनि फेरिएका छन् । अझ टिभीका पर्दामा एकअर्कालाई चोर औंला ठड्याएर गरिने गाली–नाटकका पात्रहरु फेरिएका छन् । यी मिडिया बहस रोचक र घोचक छन् । एक दिन एउटा दलको दलालले अर्कोलाई संविधान र लोकतन्त्रको हत्यारा भन्छ । फेरि एक छिनपछि अर्कोको गाली बक्ने पालो आउँछ । उसले पनि लौन ! गणतन्त्रको घाँटी थिच्यो भनेर कराउँछ ।
भिडियोमा हेर्नुहोस्
सत्ता परिवर्तनको यो नाटकको पहिलो भागमा एउटा दलले अर्कोलाई घण्टौंसम्म धोखेबाज र संविधानको हत्यारा सावित गर्ने प्रयास गर्छ । चिच्याउँछ, कराउँछ । विकास विरोधी भन्दै सरकारको नाम पटक पटक दोहोर्याउँछ । अनि एक छिनपछि एक अर्कोको पोजिसन बदलिन्छ । फेरि अर्को एक घण्टासम्म पहिलोले जे जे आरोप लगाको थियो, तिनै आरोपको वर्षा अर्कोलाई गर्छ । यसरी टिभीमा, मिडियामा नोकझोक चलिरहन्छ । आआफ्नो दलको दाल गलिरहन्छ ।
सर्पले काँचुली फेरेजस्तै दल बदल । सरकार बदल । सिद्धान्त बदल । तर प्रतिबद्धताको गीत गाउन नछाड । एकअर्कासँग लड्न भिड्न नछोड । केही नपाए जुँगालाई लिएर लड, जुँगा नभए भरिया वा फरियाको विषयलाई लिएर लड । कर्म नगर्नमा लड । विचारधाराको लडाइँ बताऊ । तर आफ्नो निजी स्वार्थको विचारधारामा बगेर जाऊ । तिमीलाई साँच्चै नै सिद्धान्तको लडाइँ लड्नु छ नि त ।
मूर्ख दर्शक वा श्रोताको अगाडि राजनीतिक दलका चालहरू यसरी नै चलिरहन्छन् । उनीहरू एक अर्कामाथि लाञ्छना, आरोप वा फोहोर फ्याँकी नै रहन्छन् । एकअर्कामाथि तर्क–कुतर्कका हिलो छ्यापिरहन्छन् । एक दिन वा एक घण्टा पहिले आफूहरू के थिए, केमा बसेका थिए, ती चकटी एकआपसमा बदलिरहन्छन् । आआफ्ना दलका गीत गाउनका लागि । आआफ्ना रंगमञ्च सजाउनका लागि । आआफ्नो डम्फु बजाउनका लागि । आआफ्ना खोटा सिक्का भजाउनका लागि । आफ्ना आफ्ना राग दरबारी सजाउनका लागि । किनकि समय समयमा अनेक ड्रामाबाजी त गर्नैपर्छ । किनकि आआफ्ना भुँडी त भर्नैपर्छ ।
जुन नेता, कार्यकर्ताले यस्तो नाटक गर्दैन, त्यो पार्टीभक्तले कुनै पनि लाभका पदविना यसै सड्नुपर्छ । मान्छेको रूप धारण गरेर साँप–न्याउरीमुसो बनेर लड्नुपर्छ । एकअर्काको खुट्टा तानेर अगाडि बढ्नैपर्छ । मिडियामा टाइम–पास पनि गर्नैपर्छ । टिभीवाला र युट्युबवालाहरुले पनि मसला पाइरहन्छन् । जसमा गएर जति धेरै वजनदार गाली कसैले बक्छ, त्यति नै दर्शक, श्रोता तिनले पाउँछन् । अर्थात् टिभी डिबेटमा भाग लिनेहरूको छनोट नै को कति उफ्री उफ्री, कति चिच्याएर, मुक्का वा लात्ती देखाएर बोल्न सक्छ वा प्रहसन गर्न सक्छ, त्यसका आधारमा हुन्छ । टिभीमा आऊ, ठूल्ठूलो स्वरमा चिच्याऊ, अनि आफ्नो र आफ्नो दलको नाम चम्काऊ । झूठ फैलाऊ अनि भन कि यो त सिद्धान्तको लडाइँ हो । तर बाहिर जे जे भने पनि सत्ता, शक्तिका अगाडि सिद्धान्त फाल्तु कुरा हुन् ।
ब्रह्म सत्य जगत् मिथ्या भनेर शास्त्रमा लेखेको छ क्यारे । तर धर्मनिरपेक्ष देशमा नेपाली नेताहरुले यसमा करेक्सन गरेर नयाँ दर्शन बनाएका छन् । ‘कुर्सी सत्य जगत् मिथ्या’ । देवकोटा अहिलेसम्म बाँचेका भए शायद यस्तो कविता लेख्थे होलान् । ...
न ज्ञान भो भक्ति न भो विवेक,
आखिर श्री कुर्सी रहेछ सत्य एक ।