काठमाडौं। नेशनल बैकिङ इन्स्टिच्युट (एनबीआई)ले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । संस्थाको १५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इन्स्टिच्युटद्वारा सञ्चालित विभिन्न सर्टिफिकेशन कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थीलाई सम्मानका साथै इन्स्टिच्युटमा १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई पुरस्कृत गरेका थिए ।
सोही अवसरमा गभर्नर अधिकारीले एनबीआईद्वारा सञ्चालन गरिने दुईओटा नयाँ सर्टिफिकेशन कोर्सहरू ‘रिस्क म्यानेजमेन्ट’ र ‘रिटेल बैंकिङ’को शुभारम्भ समेत गरेका थिए । गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा क्षमता अभिवृद्धिका लागि थप कार्यक्रम तथा सर्टिफिकेशन कोर्स ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
उक्त अवसरमा इन्स्टिच्युटको सहयोगी सस्ंथा इन्डिएन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विश्वकेतन दासले सर्टिफिकेशन कोर्सको महत्त्वबारे चर्चा गरेका थिए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरू एनबीआईको भौतिक पूर्वाधार विकास तथा इन्स्टिच्युटका विभिन्न कार्यक्रममा सहभागिताका लागि सकारात्मक रहेको बताए । एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले इन्स्टिच्युटका गतिविधि तथा भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।