काठमाडौं । भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मीयाममा नेपाल आउने पर्यटक संंख्या दोब्बर हुने आकलन गरिएको छ । जनकपुर–अयोध्यालाई जोडेर नेपालमा पर्यटक ल्याउन पहल गर्दै आएका व्यवसायीले उक्त सिजनमा परिवारसहित आउने भारतीय पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका हुन् ।
भारतीय र नेपाली पर्यटन व्यवसायीबीच लखनउमा भएको एक बृहत् नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा व्यवसायीले यस्तो बताएका हुन् । होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि जारी गरिएको प्रेस विज्ञप्तिमा सीमावर्ती क्षेत्रका पर्यटक बढ्ने उल्लेख गरिएको छ । जनकपुर र अयोध्यालाई जोडेर पर्यटक भित्त्याउने उद्देश्यले मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायीको उपस्थिति थियो । उक्त अवसरमा हानका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यको विषयमा जानकारी गराएको बताइएको छ । आउँदो गर्मी बिदामा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तासमेत उनले दिए । ‘नेपाल विवाह र माइस पर्यटनका लागि उपयुक्त रहनुका साथै यसका लागि पर्याप्त संरचनाहरू तयारी अवस्थामा छन्,’ शाहले भने, ‘पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइनेछ ।’
नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्य समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकका विषयमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा ट्राभल एजेन्ट्स एशोसिएशन अफ इन्डिया र ट्राभल ट्रेड एशोसिएशन यूपीका अध्यक्षलगायतले कार्यक्रमको सराहना गर्दै दुईदेशीय पर्यटन प्रवर्द्धनको अझ बढी महत्त्व रहेको बताए । छिमेकी देश नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने उनीहरूको भनाइ छ । भ्रमणमा हानलगायत अन्य पर्यटकीय संघ/संस्थाका प्रतिनिधि पनि सहभागी रहेको बताइएको छ ।