काठमाडौं । साताको चौथो कारोवार दिन बुधवार नेप्से परिसूचक झिनो अंक घटेको छ । यस दिन परिसूचक शून्य दशमलव २१ अंक घटेर १ हजार ९६० दशमलव ६० विन्दुमा कायम भएको छ । लगानीकर्ताको आकर्षण भने वित्त र लघुवित्त समूहका कम्पनीको शेयरमा परेको छ । यी समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । समग्र बजारमा भने बढ्न सकेको छैन ।
बजारले स्पष्टरूपमा नीतिगत सुधार खोजेको लगानीकर्ता बताउँछन् । बजार सुधारका उपाय अवम्बलन नगरेसम्म नेप्से अघि नबढ्ने उनीहरूको भनाइ छ । लामो समयदेखि नेप्से परिसूचक २ हजार आसपासकै विन्दुबाट पुनः तल झरिरहेको देखिन्छ ।
बैंकमा अधिक तरलता र निरन्तर घट्दो ब्याजदरको अवस्थामा पनि बजार माथि जान नसकेपछि नीतिगत सुधार अनिवार्य रहेको जानकारको भनाइ छ ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०८ प्रतिशत बढेको छ ।
यस दिन ३०५ धितोपत्रको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटकमा रू. २ अर्ब ५४ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४०७ दशमलव ९० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा रहेको दोल्ती पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ७४ प्रतिशत बढेर रू. ४६२ कायम भएको छ ।
बुधवार सबैभन्दा बढी कुमारी सबल योजनाका लगानीकर्ता गुमाएका छन् । यस फण्डको इकाई मूल्य १० प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ७३ मा झरेको छ । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ३ दशमलव ६९ प्रतिशत घटेर रू. ४१८ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्री फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तको रू. १० करोड ६० लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६७८ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्रामीण विकास लघुवित्तको रू. ७ करोड १५ लाख बराबरको भएको छ ।
बुधवार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ११ प्रतिशत वृद्धि भएको छ भने अन्य समूहको सूचक १ दशमलव १५ प्रतिशत घटेको छ ।