काठमाडौं। कामना सेवा विकास बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माणमा सहयोग गरेको छ । प्रयोगशालाको शिक्षण अस्पतालमा शुक्रवार विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको हो । बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
उपकुलपति अर्यालले शिक्षण अस्पताल स्थापनाका लागि १०० शøयाको सञ्चालन अनुमति प्राप्त भइसकेको भन्दै यसका लागि अनिवार्य आवश्यकता रहेको स्वास्थ्य प्रयोगशाला निर्माण गरेकोमा बैंकलाई धन्यवाद दिए । सोही कार्यक्रममा बैंक र पोखरा विश्वविद्यालयबीच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । उक्त समझदारीपश्चात् विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई बैंकले सहुलियत रूपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्ने बताइएको छ ।