चितवन आफूहरूले उत्पादन गरेको मह विक्री नभएको भन्दै चितवनका मौरीपालक किसानले चितवन प्रशासन कार्यालयमार्फत बुधवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले स्वदेशी महको बजार व्यवस्थापन नगरे सिंहदरबारमा मह पोख्ने र मौरी उडाएर आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानले उत्पादन गरेको महको बजार व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको बताए ।
नेपालमा वार्षिक ९ हजार मेट्रिक टन मह आवश्यकता पर्ने र आवश्यकताको ५० प्रतिशत मह नेपालमा उत्पादनले पूर्ति गर्ने भएपनि बजार नपाएको किसानहरूको गुनासो छ । अहिले पनि विगतका वर्षमा उत्पादन भएको मह बजारमा गइरहेको र यस वर्ष उत्पादन भएको सबै मह मौज्दातमा रहेको किसानको भनाइ छ ।
बागमती प्रदेशमा उत्पादन हुने ४५ हजार टन महमध्ये ५० प्रतिशत चितवनमा उत्पादन हुन्छ । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष दुर्गाप्रसाद तामाङले पन्ध्रदिने समयसीमासहित प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको बताए । भारतीय मह आयात बढ्दा नेपाली महको विक्री घटेको उनको भनाइ छ । नेपाली महको ब्राण्ड स्थापित गर्नुपर्ने, चिउरीको महलाई विदेशमा चिनाउनुपर्ने, नेपाली मह जम्छ, महको प्राकृतिक गुण जम्नु हो भन्ने चेतना वृद्धि गर्नुपर्ने, मह संकलन कक्ष आधुनिक तथा व्यवस्थित रूपमा बनाई अन्तरराष्ट्रियस्तरको ल्याबको व्यवस्था गर्नुपर्ने लगायत माग ज्ञापनपत्रमा छन् ।