काठमाडौं । चालू आर्थिक वर्ष (आव) को फागुनमा जीवन बीमा कम्पनीहरूको व्यवसाय घटेको छ । फागुनमा उनीहरूको प्रथम बीमा शुल्क संकलन बढे पनि नवीकरण घट्दा समग्र व्यवसायमा गिरावट देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार फागुनमा लघुबाहेकका १४ ओटा जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख विक्री तथा नवीकरणबाट ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । माघको तुलनामा कम्पनीहरूको बीमा शुल्क करीब १ अर्ब रुपैयाँले घटेको छ । माघमा उनीहरूले १२ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
फागुनमा जीवन बीमा कम्पनीहरूले कुल ४ लाख १५ हजार ६७६ ओटा बीमालेख जारी गर्दै २ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क उठाएका छन् । यसैगरी नवीकरणबाट ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणले बताएको छ ।
माघमा कम्पनीहरूले कुल ४ लाख ४८ हजार ओटा बीमालेख विक्री गर्दा २ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएका थिए । त्यसै गरी नवीकरणबाट १० अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । माघको तुलनामा बीमालेख संख्या र प्रथम बीमाशुल्क बढेको छ । तर, फागुनमा बीमालेख नवीकरण घट्दा कम्पनीहरूको व्यवसायमा नकारात्मक प्रभाव परेको हो ।
फागुनमा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । यसको फागुनको बीमाशुल्क ३ अर्ब ९ करोड रुपैयाँ छ । सबैभन्दा कम राष्ट्रिय जीवन बीमा कम्पनीले २४ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चालू आवको फागुनसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको फागुनसम्म उनीहरूले ९ अर्ब ३७ करोड २५ लाख रुपैयाँ संकलन गरेकोमा यस वर्ष ४८ करोड रुपैयाँले वृद्धि देखिएको छ ।
पौने ६ करोडको लघुबीमा
यसैगरी चालू आवको ८ महीनासम्म लघु जीवन बीमा कम्पनीहरूले ५ करोड ८९ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । फागुनमा मात्र उनीहरूले १ करोड ६७ लाख रुपैयाँ बराबर प्रथम बीमाशुल्क संकलन गरेका छन् ।
फागुनसम्म क्रेष्ट माइक्रो लाइफ सर्वाधिक व्यवसाय गर्न सफल भएको छ । क्रेष्टले १६ हजार ४८ ओटा बीमालेखबाट ३ करोड ६१ लाख कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ ओटा बीमालेख विक्रीबाट १ करोड ५९ लाख र लिबर्टी माइक्रो लाइफले १ हजार ७८७ ओटा बीमालेखबाट ६९ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ ।