चितवन । नयाँ वर्षमा सौराहामा पर्यटकको चाप बढेको छ । सौराहामा नयाँ वर्ष बनाउन आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो । नयाँ वर्षका लागि सौराहाका ७० प्रतिशतभन्दा बढी होटल बुक भएको क्षेत्रीय होटल संघ सौराहाका सचिव महेश खनालले जानकारी दिए । ‘गन्तव्य अवलोकनका लागि आएका विदेशी पर्यटकले सौराहाको सुन्दरता बढाएका छन् । सफारीमा निर्भर सौराहाको पर्यटनको सुन्दरता विदेशी पर्यटक हुन्,’ सचिव खनालले भने, ‘पछिल्लो समय भने स्वदेशी पर्यटकले सौराहा धानिएको छ ।’
सौराहामा अहिले भारतीय र चिनियाँ पर्यटकको संख्या उल्लेख्य रहेको उनले बताए । कोरोनापछि सौराहामा चाइनिज पर्यटक आउन छाडेका थिए । सोहीकारण चिनियाँ पर्यटकलक्षित कतिपय रेस्टुराँ बन्द भएका थिए । अहिले ती होटलसमेत अहिले चल्न थालेका छन् ।
नयाँ वर्ष मनाउन परिवारसहित सौराहा आएका स्वदेशी पर्यटक पछिल्लो समय औसत दुई रात तीन दिन बस्ने गरेको संघका अध्यक्ष गंगा गिरीले बताए । नयाँ वर्षलाई लक्षित गरी सौराहाका ७० प्रतिशत होटल बुकिङ भएको उनले जानकारी दिए । अंग्रेजी नयाँ वर्षमा सौराहामा हात्ती तथा पर्यटन महोत्सव तथा प्रणय दिवसमा फुड फेस्टिवल आयोजना गरिँदै आएको छ । हालै फुड फेस्टिबल गरेको रेबानले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । होटल र रेस्टुराँमा रमाउने पर्यटकको मनोरञ्जनका लागि सांस्कृतिक उत्सव आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताए । नयाँ वर्ष मनाउन यहाँ आएका पर्यटकलाई न्यानो आतिथ्य र स्वागतका लागि व्यवसायीले विशेष जोड दिएको गिरीले बताए ।
सौराहा आएका पर्यटक हात्ती सफारी र जीप सफारीमा रमाउने गरेका छन् । हात्ती सफारीमार्फत निकुञ्ज र जीप सफारीमार्फत सामुदायिक वनमा पुगेर पर्यटकले वन्यजन्तु अवलोकन गर्छन् । पछिल्ला वर्षमा सौराहामा जीप सफारी राम्ररी चलेको छ । यहाँ आउने ७५ प्रतिशत पर्यटक जीप सफारीमा चढ्छन् ।
चालू आर्थिक वर्षमा करीब तीन लाख पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । चितवन आएका ८० प्रतिशत पर्यटक सौराहा आउने अनुमान छ । सौराहामा १३० होटल र ९० रेस्टुराँ छन् ।