काठमाडौं । चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त रहेका पदमा नियुक्ति दिने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयका अनुसार आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय भएको हो।
गठबन्धन फेरिएसँगै सरकारको आर्थिक सल्लाहकारका रूपमा रहेको आयोगमा अघिल्लो गठबन्धनबाट नियुक्त भएका ४ जना सदस्यले यही चैत २ मा राजीनामा दिएका थिए ।
प्रा.डा. सिंह सहरी योजनामा प्राध्यापक र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ इन्स्टिच्युटको विपद् अध्ययन केन्द्रका उपनिर्देशक छिन् । उनी इन्जिनियरिङ अध्ययन संस्थानको प्रतिनिधित्व गर्ने नेपाल राष्ट्रिय शहरी मञ्चकी संयोजक पनि हुन् । डा. कुशेन्द्रबहादुर महत कर्णाली प्रदेश सरकारले गठन गरेको कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूहमा थिए ।
एमाले-माओवादी गठबन्धन भएका बेला एमालेको कोटाबाट डा. महत र प्रा. डा. सिंह सदस्य नियुक्त भएका थिए । गठबन्धन फेरिएसँगै राजीनामा दिएका सिंह र महत फेरि दोहोरिएका हुन् ।
प्रा. डा. अधिकारी पछिल्लो समय त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मनोनित केन्द्रीय सदस्यसमेत रहेका अरनिकोकुमार पाँडे भने वातावरणविद् हुन् ।
माओवादीको कोटाबाट आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए । गठबन्धन फेरिए पनि उनको पद कायमै छ । कांग्रेस र जनमतको कोटाबाट सदस्य बनेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले गत चैत २ मा राजीनामा दिएका थिए ।