काठमाडौं । केही सहकारी संस्थाहरूले संस्थागत सुशासन र स्वनियमन बस्न नसक्दा सिंगो सहकारी आन्दोलननै बदनाम हुन पुगेको ठहर सरोकारवालाहरूले गरेका छन्, जसले गर्दा राम्ररी काम गरिरहेका सहकारीमाथि पनि चुनौती थपिएको उनीहरूको भनाइ छ । काठमाडौंको हाडीगाउँस्थित जय–अजिमा बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा सहकारीमा स्वनियमन र सुशासन थप चुनौती बनेको सहभागीले बताए ।
एकपछि अर्को सहकारीहरूका सञ्चालक संस्था नै बन्द गरेर फरार हुन थालेपछि सहकारीको नियमन र संस्थागत सुशासनको विषय पेचिलो बनेको छ । एउटा डुबेको सहकारीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका सन्दिग्ध संलग्नता र अन्य मन्त्रीहरूको प्रत्यक्ष सहभागिताका कारण राज्य नै गलत काम गर्ने सहकारी सञ्चालकको संरक्षणमा लागेको सन्देश गएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।
काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसीले सहकारीका बारेमा सदनदेखि सडकसम्म नकारात्मक चर्चा बढी चलेको बताए । ‘सहकारी संस्थाहरूमा देखिएका समस्या संस्थाकै आन्तरिक कारण भएको हो,’ केसीले भने, ‘कतिपय संस्थामा स्वनियमन र सुशासनको चरम अभाव देखियो, जसले गर्दा गलत मनसाय राख्नेले अनुचित लाभ लिएका छन् ।’
सहकारीका मुख्य सञ्चालकले सदस्यहरूले राखेको निक्षेपआफ्नो र आफ्नो परिवारको व्यापार व्यवसाय बढाउन प्रयोग गरी सो पैसा नतिर्दा सहकारीले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकेको धेरैजसो समस्यामा परेका सहकारीमा देखिन्छ । यस्ता प्रवृत्ति रोक्न कानूनी तथा नियामकीय कमजोरी रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।
केही सहकारी सञ्चालकमा ठगीको प्रवृत्ति देखिए पनि सबै सहकारी सञ्चालक खराब नभएको केसीले दाबी गरे । ‘एकैचोटि निक्षेप फिर्ता माग्दा बैंकहरूले पनि फिर्ता गर्न सक्दैनन्,’ उनले भने, ‘एउटा बैंकमा समस्या आउदा गभर्नरदेखि सरकारका मन्त्रीले समस्या नभएको, निक्षेपकर्ता डराउनु नपर्ने धारणा सार्वजनिक गरेका हुन्छन्, तर, सहकारीमा त्यस्तो भएको छैन ।’
ऋणी सदस्यले समयमै ऋण फिर्ता नगर्दा सहकारीमा समस्या भएको काठमाडौं महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले बताए । यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्र ढकालले सहकारीप्रतिको सतही बुझाइले सहकारी अभियानकै गलत व्याख्या भएको उल्लेख गरे । यसमा राज्य पनि जिम्मेवारी नभएको धारणा उनले राखे । सो अवसरमा संस्थाका व्यवस्थापक पुरुषोत्तमकुमार थापाले संस्थाका गतिविधिबारे जानकारी गराए । उनका अनुसार संस्थामा शेयर पुँजी ४ करोड १० लाख रुपैयाँ, नगद मौज्दात ५ करोड २६ लाख रुपैयाँ छ । हाल संस्थामा साधारण २ हजार ६८८ छन् । संस्थाका अध्यक्ष सुनिल कर्मचार्यलगायतले ज्येष्ठ शेयर सदस्य प्रताप मेहर श्रेष्ठ, उत्कृष्ट बचतकर्ता कान्छुबहादुर श्रेष्ठ, उत्कृष्ट असल ऋणी मनीषा गुरूङलाई सम्मान गरेका थिए ।