काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ७७ लाख नाफा कमाएको छ । गत आवको यसै अवधिमा भने कम्पनी रू. ५६ लाख ९१ हजार घाटामा थियो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा गएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा सामान्य घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १९ करोड ३७ लाख रहेकोमा चालू आवमा रू. १९ करोड ४ लाखमा सीमित भएको छ । कम्पनी नाफामा भएसँगै प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ४४ पैसा धनात्मक छ । गत आवमा भने कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७ पैसा ऋणात्मक थियो ।
कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा केही घटेको छ । गत आवमा निष्क्रिय कर्जा १० दशमलव ५८ प्रतिशत रहेकोमा चालू आवमा ४ दशमलव ४४ प्रतिशत कायम भएको हो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ९९ लाख छ । चुक्ता पूँजी रू. ३६ करोड ७१ लाख रहेको कम्पनीले जगेडामा रू. १७ करोड ७३ लाख सञ्चिति गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ भने रू. ७ करोड २१ लाख ऋणात्मक छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ०२ र तरलता अनुपात ३ दशमलव १३ प्रतिशत छ ।