चितवन । चितवनका उद्योगी व्यवसायीले उपभोग कम भएसँगै उद्योग बन्द हुने क्रम बढेकोमा चिन्ता व्यक्त गरेका छन् । चितवनमा जारी औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ अन्तर्गत ‘दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ विषयक सेमिनारमा केही वर्षदेखि उद्योग, व्यवसायको क्षेत्रमा शिथिलता आएको भन्दै उद्योगीले यस्तो गुनासो गरेका हुन् । कोरोना महामारीपछि आर्थिक कारोबार ओरालो लाग्दै जानु र दक्ष र युवा जनशक्ति बाहिरिने क्रम बढ्दा थप जोखिम बढेको उनीहरूको भनाइ छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले कुल गार्हस्थ्य उत्पादनमा १६ प्रतिशतसम्म योगदान गरेको उद्योग क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा विगतका केही वर्षदेखि ५ प्रतिशतको हाराहारीमा झर्नुले उद्योगी विस्थापित भएको देखिएको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको लागि लगानीमैत्री वातावरण सृजना गरी आवश्यक कानून संशोधनमा तीव्रता दिनु आवश्यक रहेको उनले बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि तीन दर्जन कानून संशोधन गर्नुपर्ने देखिएको बताए । बजारलाई चलायमान गराउन कानून संशोधन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले देशमा लगानीकर्ता नै लगानी गर्न हच्किरहेको बताए । ‘कोभिडको असरका बेला पनि राष्ट्र बैंकले अर्थतन्त्रलाई दौडाउने प्रयास गरेकै हो,’ उनले भने, ‘तर, निजीक्षेत्र हच्किँदा नयाँ कर्जा प्रवाह गर्न समस्या भयो ।’
राष्ट्रिय योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. नरविक्रम थापा भने संघीयता ‘ट्रान्जेक्सन’को चरणमै रहेका कारण कतिपय नीतिगत विषयमा चाहेर पनि काम गर्न नसकेको बताए । ‘काम गर्ने हुटहुटी तीनै तहको सरकारसँग छ । तर, संघीयता नै ट्रान्जेक्सनको चरणमा रहेको हुँदा काम गर्न विभिन्न खालका समस्या आइपरेका छन्,’ उनले भने ।